एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटः नेपालले दियो १९४ रनको लक्ष्य
काठमाडौं । बंगलादेशमा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालका पवन शर्राफको अर्धशतकको सहयोगमा नेपालले भारत इमर्जिङ टिम्सलाई १९४ रनको लक्ष्य दिएको छ ।
बंगलादेशको ढाकास्थित बंगलादेश कृरा शिक्खा मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४४ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १९३ रन बनाएको थियो । नेपालका लागि पवनले अर्धशतकीय पारी खेले ।
छैटौं नम्बरमा ब्याटिङ गर्न आएका उनले ४९ बल खेल्दै ७ चौका र २ छक्काको सहयोगमा ५६ रन पूरा गरेका हुन् । यसअघि १९ ओभरको खेल सकिँदा नेपालले तीन विकेट गुमाएर मात्र ५८ रन बनाएको थियो ।
नेपालका लागि शरद भेषावकरले ४४ रन बनाएर आउट भएका थिए । त्यस्तै दिपेद्र ऐरी २४ रन बनाएर आउट भए । नेपालले पहिलो विकेटको रुपमा कप्तान ज्ञानेन्द्र मल्ललाई शून्य रनमा गुमाएको छ । दुई बलको सामना गरेका मल्ल पहिलो ओभरको दोस्रो बलमा सौरभ दुबेको बलमा बोल्ड आउट भए ।
त्यस्तै दोस्रो विकेटको रुपमा नेपालले कुशल भुर्तेललाई २८ रनमा गुमाएको थियो । नेपालका लागि चौथो नम्बरमा ब्याटिङ गर्न आएका आशिफ शेख पनि दुई रन बनाएर आउट भए ।
नेपालका लागि करण केसीले २० रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । बलिङतर्फ भारतका लागि सौरव दुबेले सर्वा्धिक चार विकेट लिए । त्यस्तै यस राठोडले तीन विकेट लिँदा पार्थ राखेडेले दुई विकेट लिए ।