सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–१० डाँडाटोलमा लोहोरो प्रहारबाट एक महिलाको मृत्यु भएको छ । श्रीमतीको टाउकोमा लोहोरो प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार गएराति करिब १ बजे सामान्य विवादका क्रममा ४२ वर्षीय मनोज कार्कीले ४० वर्षीया श्रीमती सानुकुमारी कार्कीको टाउकोमा ढुङ्गाको लोहोरो प्रहार गरेका थिए ।
लोहोरो प्रहारबाट गम्भीर घाइते भएकी सानुकुमारीको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे राति १ः१५ बजे जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय भिमान र जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले घटनामा संलग्न मनोज कार्कीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया