गण्डकीका ६२ पर्यटन व्यवसायीलाई जीडीएस तालिम


पोखरा । गण्डकी प्रदेशका पर्यटन व्यवसायी तथा कर्मचारीलाई आधुनिक हवाई टिकटिङ प्रविधिसँग परिचित गराउने उद्देश्यले आयोजित तीनदिने जीडीएस (Global Distribution System) तालिम सम्पन्न भएको छ ।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको आयोजना तथा सहकार्यमा भदौ २६ देखि २८ गतेसम्म सञ्चालन भएको तालिममा प्रदेशमा आबद्ध विभिन्न टुर तथा ट्राभल कम्पनीका ६२ जना व्यवसायी तथा कर्मचारी सहभागी भएका थिए ।

तालिममा सहभागीलाई विश्वव्यापी हवाई टिकटिङ प्रणालीको प्रयोग, बुकिङ व्यवस्थापन, टिकटिङ प्रक्रिया तथा पर्यटन सेवामा डिजिटल प्रविधिको व्यावहारिक प्रयोगबारे प्रशिक्षण दिइएको थियो ।

तालिमको समापन नाट्टा गण्डकी प्रदेशका अध्यक्ष संगीता शर्मा पौडेलको अध्यक्षतामा भएको हो । कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यकारी बोर्ड सदस्य तथा नाट्टा गण्डकीका पूर्वअध्यक्ष सन्तोष पोखरेल प्रमुख अतिथिका रूपमा सहभागी थिए ।

समापन कार्यक्रममा पोखरा पर्यटन परिषद् तथा विभिन्न पर्यटन संघ–संस्थाका अध्यक्ष तथा पदाधिकारी, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका प्रतिनिधि, प्रशिक्षक तथा जीडीएससम्बन्धी संस्थाका प्रतिनिधिको सहभागिता थियो ।

पोखरा पर्यटन परिषद्का प्रथम उपाध्यक्ष तथा नाट्टा गण्डकीका पूर्वअध्यक्ष हरिराम अधिकारीले पर्यटन क्षेत्रमा प्रविधिको प्रयोग तीव्र रूपमा बढिरहेकाले व्यवसायी तथा कर्मचारीको प्राविधिक दक्षता पनि सोहीअनुसार विकास गर्नुपर्ने बताए ।

उनले डिजिटल प्रणालीमा आधारित तालिमले पर्यटन व्यवसायको सेवा प्रवाहलाई प्रभावकारी बनाउनुका साथै व्यवसायीलाई बदलिँदो बजारमा प्रतिस्पर्धी बन्न सहयोग पुग्ने बताए ।

नाट्टा गण्डकी प्रदेशले पर्यटन क्षेत्रलाई प्रविधिमैत्री र व्यावसायिक बनाउने उद्देश्यले आगामी दिनमा पनि यस्ता क्षमता अभिवृद्धिका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

महासचिव ताराप्रसाद गौतमले सञ्चालन गरेको समापन कार्यक्रममा सहभागी व्यवसायी तथा पर्यटन क्षेत्रका प्रतिनिधिले डिजिटल प्रविधिसम्बन्धी ज्ञान र सीपले दैनिक व्यावसायिक कामलाई थप सहज र प्रभावकारी बनाउने बताएका थिए ।

नाट्टा गण्डकीका अनुसार पर्यटन क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग विस्तार भइरहेका बेला दक्ष जनशक्ति उत्पादन गर्ने यस्ता तालिमले गण्डकीको पर्यटन व्यवसायलाई थप प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।