झाडी फाँडेर गरेको उद्यमले बदलेको भुवाने


म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको फेदीमा रहेको भुवानेस्थित रमेश रावलको जग्गा दशकअघिसम्म झाडीले भरिएको थियो । बाँदरको समस्याले खेती गर्न छाडेपछि बाँझिएको जमिनमा रावल परिवारले कृषि फार्म र होटल सञ्चालन गरेपछि चहलपहल बढेको छ।

पृथ्वी राजमार्गअन्तर्गत तनहुँमा १२ वर्षसम्म होटल व्यवसाय गरेका रमेश कोभिड–१९ को महामारीपछि जन्मथलो फर्किए । व्यवसाय प्रभावित भएपछि २०७७ सालमा परिवारसहित गाउँ फर्किएका रावलले सडक छेउमै रहेको पुख्र्यौली जग्गाको झाडी फाँडेर नयाँ व्यवसाय सुरु गर्ने योजना बताए।

“पहिले खेती हुने जमिन हो । बाँदरको समस्या बढेपछि खेती गर्न छाडियो र विस्तारै झाडीले ढाक्यो”, रावलले भने, “गाउँ फर्किएपछि यही जमिनलाई उपयोग गरेर केही गर्नुपर्छ भन्ने सोच आयो । त्यसपछि होटल र कृषि फार्म सुरु गरेका हौँ ।”

अहिले १४ रोपनी क्षेत्रफलमा कटेज शैलीमा होटल सञ्चालनमा छ । घरबास शैलीमा सञ्चालित होटलमा एकपटकमा २५ जनासम्म पाहुना बस्न सक्ने क्षमता छ । होटलमा बाहिरबाट सामग्री ल्याउनेभन्दा आफ्नै कृषि फार्ममा उत्पादन भएका वस्तुलाई प्राथमिकता दिइएको छ । फार्ममा उत्पादन भएको कुखुरा, खसीको मासु, भैँसीको दूध र ताजा तरकारी होटलमा प्रयोग हुने गरेको छ।

बागलुङ–बेनी सडकमा पर्ने भुवानेमा बालबालिकाका लागि खेल्ने तथा रमाउने, वनभोज र क्याम्प फायरका लागि आवश्यक स्थान छ। रमेशलाई काठमाडौँमा उच्च शिक्षा अध्ययन पूरा गरेका छोरा सुलभले गाउँ फर्किएर साथ दिएका छन्।

रोजगारीका लागि युवा विदेशिने क्रम बढिरहेका बेला गाउँमै व्यवसाय गर्ने निर्णय लिनुभएका सुलभले कृषि र पर्यटनलाई जोडेर व्यवसाय विस्तार गर्ने योजना बनाएका छन् । “कृषि उत्पादनमात्रै गर्नेभन्दा त्यसलाई पर्यटनसँग जोड्न सकियो भने थप सम्भावना हुन्छ”, उनले भने, “आगामी दिनमा फार्मलाई एग्रो टुरिजमको अवधारणाअनुसार व्यवस्थित गर्दै लैजाने योजना छ ।”

कृषि उत्पादन, ग्रामीण वातावरण र आतिथ्य सेवालाई एकैठाउँमा जोडेर भुवानेलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने रावल परिवारको लक्ष्य छ । होटल र कृषि फार्ममा आठ जनाले रोजगारी पाएका छन् । भुवानेको पृष्ठभूमिमा धवलागिरि हिमालको दृश्य देखिन्छ । नजिकै कालीगण्डकी नदी बगिरहेको छ । हिउँदयाममा रत्नेचौरका खेतबारीमा फुल्ने पहेँलो तोरी हेर्न आन्तरिक पर्यटक पुग्ने गरेका छन् । श्रीलक्ष्मीहरि मन्दिर तथा रत्नेचौरदेखि बागलुङको कुडुले जोड्ने लामो झोलुङ्गे पुल पनि यहाँका थप आकर्षण हुन् ।

भुवानेमा रावल होटलसँगै चिता हाउस होटल तथा रेष्टुरेन्ट पनि सञ्चालनमा छ । भारतीय सेनाबाट निवृत्त हरि खत्रीले सञ्चालन गर्नुभएको चिता हाउसले पनि यस क्षेत्रमा होटल तथा पर्यटन गतिविधि बढाउन योगदान पुर्याएको छ ।

दशकअघिसम्म झाडीले ढाकिएको भुवानेमा अहिले दुई होटल सञ्चालनमा आएपछि मानिसको आवागमन बढेको छ । होटल व्यवसायले स्थानीयस्तरमा रोजगारीको अवसर सृजना गर्नुका साथै आसपासका किसानले उत्पादन गरेका कृषि उपजका लागि बजारसमेत विस्तार गरेको स्थानीय अगुवा ओम रोकाले बताए ।

“बाँदरको समस्याका कारण खेती गर्न छाडिएको र झाडीले ढाकिएको पुख्र्यौली जमिनलाई पुनः उपयोगमा ल्याएर रावल परिवारले कृषि, आतिथ्य र पर्यटनलाई एउटै व्यवसायमा जोडेको छ”, उनले भने, “यसले गाउँमा बाँझिँदै गएको जमिनलाई उत्पादनसँग जोड्न सकिने र स्थानीयस्तरमै रोजगारी तथा उद्यमका अवसर सृजना गर्न सकिने सम्भावना पनि देखाएको छ ।”