काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका पूर्वप्रमुख शैलेन्द्रकुमार श्रेष्ठले त्रिशूली क्षेत्रमा बाढीबाट प्रभावित नागरिकको अवस्थाबारे स्थलगत जानकारी लिँदै राहत तथा मानवीय सहयोगमा सक्रिय हुने प्रतिबद्धता व्यक्त गरेका छन्।
भदौ १० गते आएको बाढीबाट प्रभावित त्रिशूली क्षेत्रका विभिन्न होल्डिङ सेन्टरमा भदौ २० गते पुगेर श्रेष्ठसहितको टोलीले बाढीपीडितको अवस्था र तत्काल आवश्यक सहयोगबारे जानकारी लिएको हो।
स्थलगत भ्रमणका क्रममा बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभ तथा प्रभावित परिवारलाई विपद्बाट उभिएर पुनः जीवन अघि बढाउने शक्ति मिलोस् भन्ने कामना गरिएको श्रेष्ठले बताएका छन्।
सो अवसरमा बाढी प्रभावित महिलाका लागि अन्डरगार्मेन्ट, प्याडलगायत आवश्यक सामग्री सहयोगस्वरूप वितरण गरिएको थियो।
त्यस्तै श्रेष्ठले ‘करी विदाउट वरी’ काठमाडौंसँगको सहकार्यमा प्रभावित क्षेत्रमा बिहान–साँझ तातो खाना खुवाउने सम्भावनाबारे समेत स्थलगत जानकारी लिएका छन्। केही संस्थाले खाना सेवा सञ्चालन गरिरहेको भए पनि बाटो, पुल तथा यातायात पहुँचको समस्याका कारण कतिपय प्रभावित बस्तीमा राहत तथा खाना सेवा पुग्न कठिन रहेको पाइएको उनले बताएका छन्।
स्थानीय तहसँग समन्वय गरी सडक तथा पहुँचको अवस्थाका आधारमा आवश्यकता बढी भएका स्थान पहिचान गरेर तातो खाना सेवा पुर्याउने तयारी गरिएको श्रेष्ठले जानकारी दिए।
विपद्को समयमा राहतलाई औपचारिक सहयोगमा मात्र सीमित नराखी प्रभावित नागरिकको वास्तविक आवश्यकतासम्म पुग्नुपर्नेमा जोड दिँदै श्रेष्ठले स्वयंसेवक तथा सेवामा सहभागी हुन चाहने सबैलाई मानवीय अभियानमा जोडिन आह्वान गरेका छन्। ’एक छाक तातो खाना र केही न्यानो माया लिएर पीडितसम्म पुगौँ’ भन्ने भावनासहित अभियानलाई अघि बढाउने उनको भनाइ छ।

प्रतिक्रिया