अहिले पनि देशमा सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता छः शेरबहादुर देउवा


काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको लोकतान्त्रिक संघर्ष, पार्टीका अग्रज नेताहरूको योगदान र आफ्नो लामो राजनीतिक यात्रालाई स्मरण गर्दै कांग्रेसको विरासतलाई गौरवको विषय मात्र नभई जनताप्रतिको जिम्मेवारीका रूपमा ग्रहण गर्नुपर्ने बताएका छन् ।

लामो समयको विदेश बसाइपछि बिहीबार स्वदेश फर्किएका देउवाले विज्ञप्ति जारी गरी युवा पुस्ताले माग गरेको परिवर्तनलाई नेपाली कांग्रेसले आत्मसात् गर्नुपर्ने उल्लेख गर्दै गत भदौमा भएको जेनजी आन्दोलनका जायज माग सम्बोधन गर्नुपर्ने धारणा आफूले त्यतिबेलै राखेको बताएका छन् ।

‘परिवर्तनको अर्थ विगत खराब थियो भन्ने होइन’ भन्दै देउवाले लोकतन्त्र, स्वतन्त्रता, अधिकार र राज्यको प्रणाली निर्माणमा अघिल्लो पुस्ताले गरेको संघर्षलाई नकारात्मक रूपमा चित्रण गर्ने प्रवृत्ति स्वीकार्य नहुने बताएका छन्। विगतका कमजोरी स्वीकार गर्दै सबै पक्ष मिलेर समुन्नत मुलुक निर्माणमा अघि बढ्नुपर्ने उनको भनाइ छ।

यस्तो छ देउवाको विज्ञप्ति

प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू,
झण्डै पाँच महिना लामो स्वास्थ्य उपचार सकेर म पुनः यस पुण्यभूमिको काखमा उपस्थित हुन पाउँदा मेरो हृदय गहिरो भावनाले भरिएको छ। हिमालका शिखर, पहाडका हरियाली हराभरा र तराईका विशाल मैदानहरूले मलाई पुनः आफ्नै घरतर्फ बोलाएका छन्। सर्वप्रथम मेरो स्वास्थ्य बारे चासो, चिन्ता राख्ने र स्वास्थ्य लाभको कामना गर्नु हुने सबैमा हार्दिक धन्यवाद दिन चाहन्छु ।

म आज यहाँ विनम्र सेवकका रूपमा उपस्थित भएको छु– सुन्न, सिक्न र समुन्नत मुलुक बनाउने यात्रामा समर्पित हुन । कृतज्ञताले परिपूर्ण हृदय र परिवर्तनका समीरलाई आत्मसात् गर्न तत्पर खुला चेतनासहित स्वास्थ्य उपचार सकेर म तपाईंहरूमाझ पाँच महिनापछि फर्किएको छु।

आज आफ्ना अनुभूति र अनुभवका गहिराइबाट केही विचारहरू साझा गर्न चाहन्छु।

१. म हाम्रो साझा राष्ट्रिय दायित्वप्रति गहिरो सम्मान व्यक्त गर्दै फर्किएको छु । नेपाली कांग्रेस केवल लोकतान्त्रिक इतिहास बोकेको दल मात्र होइन; यो दशकौंको राजनीतिक संघर्ष सहेर आफ्नो अस्तित्व र मर्यादा जोगाइराख्न सफल पार्टी पनि हो । हामीले यस राष्ट्रको स्वतन्त्रता र लोकतन्त्रका लागि रगत बगाएका छौं। नेपाली कांग्रेसको यो लामो संघर्षपूर्ण यात्रामा एउटा यात्रीको रुपमा विभिन्न कालखण्डमा सहभागी हुन पाएकोमा म आफूलाई गर्व अनुभूत गर्दछु ।

२०२० सालदेखि निरन्तर राजनीतिका दुख, सुख र संघर्षपूर्ण दिनहरु अझै पनि मेरो मानस पटलमा ताजा छन्। अहिले मुलुकले उपभोग गरेको स्वतन्त्रता, लोकतन्त्र र विकासमा कही न कही सहभागी हुन पाएकोमा म उच्च गर्व गर्दछु ।
विगतमा हाम्रा नेताहरु वीपी कोइराला, सुवर्ण शम्शेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालालगायत हाम्रा अग्रजहरुको त्याग र योगदान हामीले कहिल्यै भुल्न हुँदैन। त्यो विरासत गौरवको पदक होइन, जनताको विश्वासकारूपमा हामीले बहन गरिरहेको पवित्र जिम्मेवारी हो ।

२. मैले हाम्रो युवा पुस्ताको मौन पीडा र प्रखर आवाज दुवै सुनेको छु। म स्पष्ट रूपमा भन्न चाहन्छु– नेपाली कांग्रेसले युवा पुस्ताले माग गरेको परिवर्तनलाई आत्मसात् गरेको छ । विश्व बदलिएको छ, र हामी पनि समयको गतिसँगै अघि बढ्नुपर्छ भन्ने सत्यलाई हामी स्वीकार गर्छौं। मैले समाजका सबै वर्ग, सबै समुदाय र सबै पुस्ताको सार्थक सहभागीता सुनिश्चित गर्ने काममै सँधै नेतृत्व गरें, किनकि भविष्य ती हातहरूको हो जसले राष्ट्र निर्माण गर्नेछन्। यसैले भौतिक पीडा सहँदासहँदै पनि गत भदौमा भएको जेनजी आन्दोलनको जायज मागलाई मैले सम्बोधन गर्नुपर्ने धारणा त्यति बेला नै राखेको थिएँ ।

परिवर्तनको अर्थ विगत खराब थियो, हाम्रा पुस्ताको त्याग बलिदान र संर्घष खराब थियो भन्ने होइन । हाम्रो पुस्ताले लामो समय लोकतन्त्र, स्वतन्त्रा, विभिन्न जातजाति, क्षेत्र, समुदायको अधिकारका लागि लड्नु पर्यो । मुलुकमा पद्दति बनाउन समय खर्चिनु पर्यो। विगतका यी एतिहासिक कामलाई नकरात्मकता फैलाउने भाष्य कोही पनि सच्चा नागिरकका लागि स्वीकार्य हुँदैन । केही कमी कमजोरी भए होलान्, तर त्यसलाई स्वीकार गर्दै समुन्नत मुलुक निर्माणमा सबै पक्षको हातेमालो हुन आवश्यक छ। लोकतन्त्रमा सत्ता अस्थायी हुन्छ तर जनताको मन बुझ्ने नेता मात्रै सदा स्मरणीय हुन्छ।
हामी हाम्रो राजनीतिक यथार्थको जटिलतालाई इमानदारीपूर्वक स्वीकार गर्छौ। म कुनै बहाना प्रस्तुत गर्दिनँ, केवल सत्य स्वीकार गर्दछु । हामी जनताको इच्छालाई सर्वोच्च मान्दै, प्रत्येक जनादेश र लोकतन्त्रलाई दिशा दिने प्रत्येक आवाजको सम्मान गर्दै अघि बढ्नेछौं ।

३. परिवर्तन सजिलो हुँदैन भन्ने कुरा म राम्ररी जान्दछु । परिवर्तनको बाटो कहिल्यै समतल हुँदैन; यसले धैर्य, साहस र दृढताको परीक्षा लिन्छ । जनतामा अहिले परिवर्तनको ठूलो आकांक्षा देखिएको छ । त्यसलाई सम्बोधन गर्नुपर्ने वर्तमान सरकारको दायित्व हो । आफ्नो दायित्व भुलेर राजनीतिक आग्रह पूर्वाग्रह साँध्ने हो भने त्यो सत्तारुढ दल र मुलुककै लागि हितकर हुँदैन । त्यसैले जनताको आकांक्षा पुरा गर्ने बाटोमा सरकार अघि बढ्नु पर्छ । ताजा जनमतबाट उदाएको सत्तारुढ दलले जनताको मतलाई कदर गर्न सकेन भने लोकतन्त्रमा जनतानै जनार्दन हुन् भन्ने विषय कसैले बदल्न सक्दैन । त्यसैले हामी परिवर्तन व्यवस्थापन प्रक्रियामा सहयोग गर्न तयार छौं। हामी अन्धाधुन्ध दौडिने छैनौं, विवेक, पारदर्शिता र न्यायका आधारमा प्रत्येक रूपान्तरणलाई अघि बढाउनेछौं।

४. नेपाली कांग्रेसले आफू एकताबद्ध भएर देशका क्रियाशिल अन्य सबै राजनीतिक दलहरुसँग समेत सहमति र सहकार्य गरेर जानु पर्ने आजको आवश्यकता हो । सबै मिलेर देशको राष्ट्रियता, लोकतन्त्रको सुदृधिकरण गर्नु पर्नेछ । वर्तमान संविधान नेपालीको लामो संघर्ष र बलिदानबाट प्राप्त भएको हो यसको संरक्षण गर्ने र संशोधन गर्दा पनि राष्ट्रिय सहमतिका आधारमा गर्नु पर्दछ ।

अंक गणितीय रुपमा संसदमा नेपाली कांग्रेस सानो–ठूलो भयो होला, तर २००७ सालदेखि नेपाली राजनीतिक परिवर्तनको हरेक खुटकिलोको नेतृत्वकर्ता हो– कांग्रेस । अहिले नेपाली कांग्रेसमा देखिएको असहमित र निराशा तुरुन्तै समाधान हुनुपर्छ । मुलुककै मियो दलमा विवाद हुँदा मुलुकको राष्ट्रियता नै कमजोर हुन सक्छ । तसर्थ आम नेपाली कांग्रेसका नेता कार्यकर्ता, सुवेच्छुक, समर्थक, मतदातालगायत आम नेपाली जनतामा कांग्रेस सामुहिकतामा विश्वास गर्ने पार्टी हो, सोही नीति अनुसार सबैको त्याग बलिदान र संर्घषलाई स्वीकार गरेर अघि बढ्न म अपिल गर्न चाहन्छु । नेपाली कांग्रेस कसैको इगोमा होइन, जनताको सर्वोपरी हितलाई केन्द्रमा राखेर अघि बढ्नु पर्छ । युवा साथीहरू अघि बढ्नु पर्छ तर त्यसको मतलब पाका र अनुभवी जति सबै खराब हुन् भन्ने गलत भाष्य र सामाजिक सञ्जालमा भ्युजको पछाडिभन्दा पनि नेपाली कांग्रेसको दायित्व नबिर्सिन आ नेता कार्यकर्ताहरुमा अनुरोध गर्न चाहन्छु ।

मैले राजनैतिक रुपमा लिनु पर्ने केही छैन तर मेरो विगतको अनुभव मुलुक र पार्टीले लिन सक्नु पर्छ र त्यो अनुभव नयाँ पुस्तालाई शेयर गर्नु मेरो दायित्व पनि हो । नेपाली कांग्रेसप्रतिको मेरो अटुट विश्वास र माया कहिल्यै कम हुने
छैन । पार्टीका साथीहरू अहिले निराश भएको अवस्था छ। उनीहरुको मनोबल बढ्ने गरी पार्टीभित्रका साथीहरूको भावनालाई पुनः एक पटक जोड्नु पर्ने समय आएको छ । त्यस कार्यमा लाग्न म सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई अपील पनि गर्न चाहन्छु ।

विगतमा माओवादीको सशस्त्र द्वन्द्वदेखि मुलुकका जटिल राजनीतिक घटनाक्रमहरूका साथै नेपाली कांग्रेसभित्रका विवादहरूमा मिलाप गराएको मेरो अनुभव छ । मलाई विश्वास छ त्यो अनुभव आगामी दिनहरूमा म नयाँ पुस्तालाई हस्तान्तरण गर्ने नै छु । हामी आत्मसमीक्षा र मार्ग सुधारप्रति प्रतिबद्ध छौं । यदि हामी कतै विचलित भएका छौं भने सुधार गर्नेछौं; यदि कतै चुक्यौं भने पुनः उठ्नेछौं । हाम्रो यात्रा निरन्तर सुधारको यात्रा हुनेछ, जसलाई तराईदेखि हिमालसम्मका प्रत्येक नागरिकको सुझाव, अपेक्षा र आकांक्षाले मार्गदर्शन गर्नेछ।

अन्तमा,
म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको छु । २०३३ सालमा वीपी कोइराला भारत निर्वासनबाट नेपाल फर्कंदा सबै राष्ट्रवादी र प्रजातन्त्रवादी शक्तिहरू एक हुनु पर्ने समय आएको उद्घघोष गर्नु भएको थियो । मलाई लाग्छ फेरि ४७ वर्षपछि हाम्रो राष्ट्रिय एकतालाई मजबुत गर्न सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता देखिएको छ।
आउनुहोस्, विगतका विभाजन र विद्वेषका घाउहरू निको पारौं । प्रतिशोध होइन, मेलमिलापको मार्ग रोजौं । यस्तो नेपाल निर्माण गरौं जहाँ प्रत्येक बालकले निर्भिक सपनाहरू देख्न सकोस्, प्रत्येक ज्येष्ठ नागरिकले सम्मानपूर्वक विश्राम गर्न पाओस्, र प्रत्येक समुदाय समृद्धि तथा अवसरका साथ फस्टाउन सकोस् ।

सार्वजनिक जीवनमा पदमा बसेर काम गर्दै जाँदा विभिन्न आलोचना, प्रत्यालोचनाहरू हुने गर्दछन् । मैले सँधै भन्ने गरेको छु मैले जीवनमा राष्ट्र, लोकतन्त्र, नागरिक, संविधान र कानुनलाई सर्वोपरी मानी काम गरेको छु । कानुन र नीति विपरित कुनै काम गरेको छैन । मेरो जीवन खुला किताब हो । म प्रतिज्ञा गर्दछु अझ पनि जीवन रहँदासम्म राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, मुलुक र जनताको सर्वोत्तमहीत, संविधान कानुन र नैतिकता मूल्य मान्यता अनुरुप काम गर्नेछु र यी विषयमा कुनै कसैसंग मेरो सम्झौता हुन सक्दैन । म नेता बनेर होइन, यस महान राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु – विनम्रता, समर्पण र प्रेमका साथ सेवा गर्न तत्पर जय नेपाल।

शेरबहादुर देउवा