काठमाडौँ । अध्यागमन विभागको हिरासतमा रहेका चिनियाँ नागरिकलाई छुटाइदिने तथा विभागको नियन्त्रणमा रहेका राहदानीसमेत झिकाइदिने प्रलोभन देखाएर ७२ लाखको डिल गरी ९ लाख रुपैयाँ ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार गत असार १२ गते ललितपुरको सानेपाबाट नियन्त्रणमा लिइएका ९ जना चिनियाँ नागरिक अध्यागमन विभागको हिरासतमा रहेका बेला उनीहरूलाई छुटाइदिने र विभागमा रहेका अन्य १५ वटा राहदानीसमेत निकालिदिने भन्दै पीडितसँग ७२ लाख रुपैयाँमा सहमति गरी ९ लाख रुपैयाँ लिएको उजुरी प्राप्त भएको थियो ।
उक्त सूचनाका आधारमा अनुसन्धान अघि बढाएको प्रहरीले साउन ४ गते काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट उदयपुर कटारी नगरपालिका–८ घर भई हाल ललितपुरको नख्खीपोट बस्ने बिक्रमबहादुर थापा, नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) सुनवल नगरपालिका–७ घर भई हाल नख्खीपोट बस्ने गोपालकुमार गुरुङ र सर्लाही लालबन्दी नगरपालिका–५ घर भई हाल काठमाडौंको बुद्धनगर बस्ने नारदप्रसाद खतिवडालाई पक्राउ गरेको जनाएको छ। गुरुङ सशस्त्र प्रहरीका पूर्वएसएपी हुन् भने खतिवडा चर्चित हाँस्यव्यंग्य कलाकार हुन् ।
प्रहरीका अनुसार पक्राउ परेका थापा जिल्ला प्रहरी परिसर काठमाडौंमा दर्ता भएको १२ लाख २५ हजार रुपैयाँ बिगो रहेको बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी समेत हुन् ।
पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

प्रतिक्रिया