काठमाडौँ । नेपाल घरेलु तथा साना उद्योग महासंघको २६औँ राष्ट्रिय महाधिवेशन तथा २३औँ राष्ट्रिय महिला उद्यमी सम्मेलनबाट नवीकरणीय ऊर्जा क्षेत्रको प्रतिनिधित्व गर्दै गुणराज ढकाल केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएका छन् ।
उनले घरेलु तथा साना उद्योगमा नवीकरणीय ऊर्जाको प्रयोग विस्तार गर्दै नेपालमा हरित औद्योगिकीकरण (Green Industrialization) लाई सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
निर्वाचनपछि प्रतिक्रिया दिँदै ढकालले आफूलाई उद्यमीले दिएको विश्वास र जिम्मेवारीलाई आत्मसात् गर्दै आगामी कार्यकालमा घरेलु तथा साना उद्योगको प्रवद्र्धन, नवीकरणीय ऊर्जाको प्रभावकारी उपयोग, नीतिगत सुधार तथा दिगो औद्योगिक विकासका लागि सक्रियतापूर्वक काम गर्ने बताए।
उनका अनुसार नेपालको औद्योगिक क्षेत्रलाई प्रतिस्पर्धी, वातावरणमैत्री र दिगो बनाउन स्वच्छ, भरपर्दो तथा किफायती ऊर्जाको पहुँच विस्तार अपरिहार्य छ। घरेलु तथा साना उद्योगमा नवीकरणीय ऊर्जाको प्रयोग बढाउँदै उत्पादन लागत घटाउने, ऊर्जा दक्षता अभिवृद्धि गर्ने र उद्योगलाई हरित प्रविधिमैत्री बनाउने अभियानलाई प्राथमिकताका साथ अघि बढाइने उनले उल्लेख गरे।
ढकालले उद्योग क्षेत्रको दीर्घकालीन विकासका लागि ऊर्जा दक्षता, स्वच्छ प्रविधि, हरित लगानी तथा नवीकरणीय ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्ने नीति तथा कार्यक्रम अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे।
उनले आगामी कार्यकाल सफल बनाउन सम्पूर्ण उद्योगी, उद्यमी तथा सरोकारवाला निकायको निरन्तर साथ, सुझाव र सहकार्यको अपेक्षा गर्दै निजी क्षेत्र, सरकार र विकास साझेदारबीच सहकार्य सुदृढ गरी घरेलु तथा साना उद्योगको दिगो विकास र हरित औद्योगिकीकरणको लक्ष्य हासिल गर्न आफू प्रतिबद्ध रहेको बताए।

प्रतिक्रिया