राजविराज । सप्तरीको राजविराजस्थित जिल्ला कारागारमा जेलर रूपक मण्डलको सरुवाको माग गर्दै कैदीबन्दीहरू आन्दोलनमा उत्रिएपछि कारागार परिसर तनावग्रस्त बनेको छ ।
जेलर मण्डलले चौकीदार नियुक्तिका नाममा ठूलो आर्थिक चलखेल गर्दै कैदीबन्दीहरूबाट रकम असुलेको आरोप लगाउँदै उनीहरू तीन दिनदेखि आन्दोलनमा छन्। आन्दोलनरत कैदीबन्दीहरूले जेलर मण्डलको तत्काल सरुवा र घटनाको निष्पक्ष छानबिनको माग गरेका छन्।
आन्दोलन नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेपछि स्थिति थप तनावपूर्ण बनेको थियो । त्यसक्रममा केही कैदीबन्दीहरूले शरीरमा मट्टीतेल खन्याएर आत्मदाहको प्रयास गरेका थिए। कैदीबन्दीहरूले आत्मदाहको प्रयास गर्न थालेपछि प्रहरी पछि हटेको स्रोतले जनाएको छ।
घटनापछि कारागार परिसरमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। सुरक्षा संवेदनशीलताको कारण देखाउँदै सञ्चारकर्मीहरूलाई समेत घटनास्थलमा पुगेर समाचार सङ्कलन गर्न अवरोध गरिएको छ।
राजविराज नगरपालिका –१५ मुसहरनियाँका कैदी धर्नेन्द्रप्रसाद साहले आफुले चौकीदारका लागि जेलर मण्डललाई ५ लाख घुस दिएको बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी रामकृष्ण थापाले कारागारको शान्ति–सुरक्षा कायम गर्न सामान्य बल प्रयोग गरिएको स्वीकार गर्दै घटनाबारे कारागार व्यवस्थापन विभागलाई जानकारी गराइसकिएको बताए।
उनले घटनाबारे थप विवरण आउन बाँकी रहेको छ भने कारागारभित्रको अवस्था सामान्य बनाउन प्रशासन र सुरक्षा निकायले आवश्यक पहल गरिरहेको जानकारी दिए ।

प्रतिक्रिया