ड्रागन फ्रुटले बदलेको इङनामको परिचय


फिक्कल (इलाम) । इलामको चुलाचुली गाउँपालिका–३ का किसान प्रविण इङनामलाई आजकल फुर्सद छैन । अधिकांश समय ड्रागन फ्रुटको स्याहारसुसार गर्दै बगानमा बित्ने गरेको छ । श्रीअन्तुमा घाम उदाएदेखि साँझ घाम नडुब्दासम्म उनी ड्रागनको रेखदेख गर्न लागिपर्छन् ।

सात वर्षअघि स्थापना गरिएको ‘भिलेज एग्रो फार्म’ आज जिल्लामै धैरै ड्रागन फ्रुट उत्पादन तथा बिक्रीवितरण गर्ने फार्मका रूपमा परिचित छ । उनले उक्त खेतीबाट वार्षिक रु १२ लाखबराबरको आम्दानी गरेका छन् ।

दुई बिघामा लगाइएका दुई हजार ८०० बिरुवाबाट उत्पादन भएको फल बिक्री गरेर प्रसन्न देखिएका इङनामले भने, “यस वर्ष उत्पादन बढ्ने भएकाले आम्दानीसमेत बढ्ने अपेक्षा छ ।”

उनले आफ्नै जमिन र ३८ कट्ठा लिजमा लिएर मलेसियन प्रजातिको रातो ड्रागन फ्रुट रोपेका छन् । सुरुमा तीन कट्ठा जमिनमा ड्रागन खेती सुरु गरेको इङनामले कम लगानीमा धेरै आम्दानी हुन थालेपछि खेती विस्तार गरेका हुन् ।

“पहिले परीक्षणका लागि तीन कट्ठा जमिनमा ड्रागन फ्रुट रोपेको थिएँ । उत्पादन राम्रो भएपछि क्रमशः बढाउँदै लागेको छु”, उनले भने, “अहिले दुई बिघा (४० कट्ठा)मा खेती विस्तार गरेको छु । आगामी वर्ष थप विस्तार गर्ने योजनामा छु ।”

उनले उत्पादन गरेको ड्रागन फ्रुटको बजारको कुनै समस्या छैन । व्यवसायी बगानमा नै आएर खरिद गरी लैजाने गरेका छन् । उनले उत्पादन गरेको फ्रुट झापाको विर्तामोड र दमक, मोरङको उर्लाबारी र इलाम बजारमा बिक्री हुने गरेको छ ।

उनका अनुसार ड्रागन फ्रुट साइजअनुसार प्रतिकेजी रु २०० देखि रु ५०० सम्म बगानबाटै बिक्री हुने गर्दछ । “उत्पादन गरेको फल बिक्दैन कि भन्ने चिन्ता छैन, व्यापारी बगानमा नै आउँछन्”, उनले भने, “बगानबाट साइजअनुसार प्रतिकलोग्राम रु २०० देखि रु ५०० सम्ममा बिक्री हुने गर्दछ ।”

उनको फार्मबाट आफू त स्वरोजगार बन्नुभएकै छ, स्थानीयले समेत रोजगारी पाएका छन् । “बगानमा म आफैँ खट्ने गरेको छु, त्यसबाहेक पाँच जना श्रमिकलाई रोजगारी दिएको छु”, उनले भने, “आफू स्वरोजगार भई अरुलाई समेत रोजगारी दिन पाउँदा आत्मसन्तुष्टि मिल्दोरहेछ ।”

पैसा कमाउन विदेश नै गइराख्नु पर्दैन भन्ने सन्देश दिन आफूले गाउँमै बसेर कृषि व्यवसाय सुरु गरेको उनी बताउँछन् । “बेरोजगार युवा विदेशिने क्रम रोक्न र गाउँघरमा नै बसेर भए पनि स्वरोजगार बन्न सकिन्छ भन्ने सन्देश दिन व्यावसायिक रूपमा खेती सुरु गरेको हुँ”, इङनाम भन्छन्, “निरन्तरता दिँदै नवीनतम ढङ्गबाट काम गर्ने हो भने गाउँघरमा नै मज्जाले कमाइ गर्न सकिन्छ ।”

कम समय, श्रम र पैसामा धेरै उत्पादन र आम्दानी गर्न सकिने भएकाले व्यावसायिक खेतीमा जोड दिएको उनको भनाइ छ । अन्नबालीमा मात्र सीमित रहने यस क्षेत्रका किसानका लागि इङनामको यो व्यावसायिक ड्रागन फ्रुट खेती एउटा अनुकरणीय र प्रेरणाको स्रोत बनेको छ । कम मिहिनेत र राम्रो बजार भाउ पाउने भएपछि स्थानीयस्तरमा उक्त खेतीतर्फ अन्य किसानको पनि आकर्षण बढ्न थालेको छ ।

चुलाचुली गाउँपालिका–२ बुढीझोडाकी मायतीमाया लिम्बूले पनि व्यावसायिक ड्रागन फ्रुट खेती गर्दै आएकी छिन् । छ वर्षअघि ‘छथरे ड्रागन फ्रुट कृषि फार्म’ दर्ता गरी खेती गर्न थालेकी उनले अहिले आठ कट्ठा जमिन लिजमा लिएर ६५० बोट ड्रागन फ्रुट रोपेकी छिन् ।

रोपेका सबै बोटले उत्पादन दिन थालेका छन् । लगानी धेरै नचाहिने र उत्पादनसमेत राम्रो हुने भएकाले मैले आठ कट्ठा जमिनमा ड्रागन फ्रुट खेती गर्दै आएकी छु उनले भनिन्। अन्य अन्नबालीभन्दा मिहिनेत कम र आम्दानी धेरै हुने भएकाले यसलाई विस्तार गर्ने योजना छु ।

उनले सबै खर्च कटाएर वार्षिक रु एक लाख २५ हजार आम्दानी गरेको सुनाइन् । इङनाम र लिम्बूमात्र होइन, पछिल्लो समय जिल्लाका अन्य किसानको ड्रागन फ्रुट खेतीमा आकर्षण बढ्दै गएको छ । राम्रो आम्दानी हुने भएपछि स्थानीयले परम्परागत खेतीलाई विश्राम दिन थालेका छन् ।

चुलाचुलीमा ड्रागन फ्रुट खेती प्रवर्द्धनमा सरकारको समेत सहयोग हुँदै आएको छ । इङनामको फार्मलाई चुलाचुली गाउँपालिकाले र लिम्बूको फार्मलाई कृषि ज्ञान केन्द्रले सहयोग गरेको छ ।

इङ्नामको ‘भिलेज एग्रो फार्म’लाई ड्रागन फलखेती प्रवर्द्धन गर्न चुलाचुली गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ मा रु चार लाख अनुदान दिएको थियो । इङनामले भने, “प्राप्त भएको अनुदानले बगान व्यवस्थापन र नयाँ बिरुवा थप गर्न मद्दत मिलेको थियो । आगामी दिनमा पनि यस्ता प्रवर्द्धनका कार्यक्रम प्राप्त हुने विश्वास छ ।”

‘छथरे ड्रागन फ्रुट कृषि फार्म’ लाई बगान व्यवस्थापनका लागि सोही वर्ष कृषि ज्ञान केन्द्र इलामबाट ५० प्रतिशत लागत साझेदारीमा रु दुई लाख ५० हजार अनुदान उपलब्ध भएको थियो । सो अनुदानले बगान व्यवस्थापनमा सहयोग मिलेको लिम्बूले बताइन् ।

चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर गाउँपालिकाले आफ्ना गतिविधि अगाडि बढाएको बताए । “हामीले विगतदेखि नै कृषि क्षेत्रलाई प्राथमिकता राखेर काम गदै आएका छौँ”, अध्यक्ष केरुङले भने, “आगामी वर्ष पनि किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गर्नेछौँ । त्यसका लागि आवश्यक बजेटको व्यवस्था गरेका छौँ ।”

ड्रागन फ्रुट खेती इलामको चुलाचुलीसहित माई नगरपालिका, रोङ गाउँपालिका, माईजोगमाई गाउँपालिका र इलाम नगरपालिकाको तल्लो क्षेत्रमा विस्तार हुँदै आएको छ । पछिल्लो समय नेपालमा लोकप्रिय बन्दै गएको एक आकर्षक र पौष्टिक फलका रूपमा ड्रागन फ्रुटलाई लिइन्छ । समथर जमिनमा ड्याङ बनाएर पिलर गाडेर, पातलो हारमा मिलाएर लगाउन सकिने ड्रागन फ्रुट लोकप्रिय छ ।