पातपतिङ्गरबाट प्राङ्गरिक मल


गोरखा । जिल्लाको चारवटा सामुदायिक वन समूहले वनजङ्गलमा कुहिएर खेर गइरहेको पातपतिङ्गरबाट प्राङ्गरिक मल बनाउन सुरु गरेको छ । सहिदलखन गाउँपालिका–१ को रामलक्ष्मण सामुदायिक वन उपभोक्ता समूह तथा सोही वडाको बागपानी सामुदायिक वन उपभोक्ता समूहले पातपतिङ्गरबाट प्राङ्गरिक मल बनाउन सुरुआत गरेको हो ।

गोरखा नगरपालिका–८ को लुदी दामगाडे सामुदायिक वन उपभोक्ता समूह तथा भीमसेनथापा गाउँपालिका वडा नं ५ को कलुवागैरा आँपगैरा कुटमिरे सामुदायिक वन उपभोक्ता समूह उक्त कार्यमा जुटेको हो । डिभिजन वन कार्यालय गोरखाको प्राविधिक तथा आर्थिक सहयोगमा सामुदायिक वनहरूले पातपतिङ्गरबाट प्राङ्गारिक मल बनाउन सुरु गरेका हुन् ।

कार्यालयले सामुदायिक वन समूहहरूलाई प्राङ्गरिक मल बनाउन आवश्यक मेसिन उपलब्ध गराएको डिभिजन वन कार्यालय गोरखाका वन अधिकृत शिशिर लम्सालले बताए । यस्तै, वन समूहहरूलाई मल बनाउनका लागि आवश्यक तालिम तथा अभिमुखीकरण गराएको उनले जानकारी दिए ।

कार्यालयको बायोमासमा आधारित प्राङ्गरिक मल उत्पादन कार्यक्रमअन्तर्गत मल बनाउने कार्यक्रम सञ्चालन गरेको अधिकृत लम्साल बताउँछन् । कार्यक्रमले पछिल्लो समय वन क्षेत्रमा चुनौतीका रूपमा फैलँदै गएको मिचाहा प्रजातिको सदुपयोग तथा व्यवस्थापनमा सहयोग पुर्याउने उनले बताएका छन् ।

“वनमारालगायत मिचाहा प्रजाति व्यवस्थापन र रैथाने प्रजातिको संरक्षणमा कार्यक्रमले सहयोग पुर्याउँछ”, उनले भने । यसैगरी, प्राङ्गरिक मलको उत्पादनले रसायनिक मलको अभावलाई केही हदसम्म परिपूर्ति गरेर कृषि र वनको सम्बन्ध स्थापित गर्ने तथा जैविक कृषि प्रवर्द्धन गर्ने वन अधिकृत लम्सालको भनाइ छ ।

कार्यक्रमअन्तर्गत कार्यालयले सामुदायिक वन उपभोक्ता समूहकै नेतृत्वमा वनबाट पातपतिङ्गरहरू (वनमारा, झाडी, पात, काठको टुक्रा) सङ्कलन गर्छ । सङ्कलन भएका उक्त सामग्रीहरूलाई पाँचदेखि आठ फिट चौडाइ र तीनदेखि पाँच फिट उचाइको लामो तह बनाएर खुला ठाउँमा जम्मा गरिन्छ ।

मल बन्नका लागि उपयुक्त विधि तथा प्रक्रिया पुर्याएर आठदेखि १२ हप्ताभित्र उच्च गुणस्तरको प्राङ्गरिक मल तयार हुने डिभिजन वन कार्यालय गोरखाका प्रमुख मदनमोहन शाण्डिल्यले बताए । उनका अनुसार कार्यक्रमले मिचाहा प्रजातिको व्यवस्थापन, डढेलो नियन्त्रण तथा सामुदायिक वनको आयआर्जनमा ठूलो टेवा पुर्याउनेछ ।