१ करोड ४८ लाखभन्दा बढीको क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा एक जना पक्राउ


काठमाडौँ । प्रहरीले १ करोड ४८ लाख रुपैयाँभन्दा बढीको अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार विभिन्न सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई प्रलोभनमा पारेर ठगी गरिएको रकमलाई यूएसडीटीमा साटी कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा अनुसन्धान गरिएको थियो ।

सोही क्रममा बिीबार दिउँसो करिब २ः३० बजे काठमाडौं महानगरपालिका–११, माइतीघरबाट भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–५ निवासी २५ वर्षीय मुकेश प्रजापतीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर उनीमाथि अनुसन्धान अघि बढाएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा प्रजापतीले हालसम्म १ करोड ४८ लाख ७६ हजार ५२७ रुपैयाँ ४६ पैसा बराबरको क्रिप्टोकरेन्सी कारोबार गरेको खुलेको प्रहरीले जनाएको छ ।

यस्तै, क्रिप्टोकरेन्सी कारोबारमा प्रयोग भएका विभिन्न खातामा अमेरिकी डलर ७,४८५.२३, (नेपाली मूल्यअनुसार करिब ११ लाख ४१ हजार ९८४ रुपैयाँ) बराबरको रकम मौज्दात रहेको पनि अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।