पुरुषोत्तम मास व्रत अनुष्ठान भव्य रूपमा सम्पन्न


काठमाडौं । जेष्ठ ३ गतेदेखि प्रारम्भ भएको एकमहिने पुरुषोत्तम मास व्रत अनुष्ठान तथा रामार्चन यज्ञ काठमाडौंको बालाजुस्थित प्राचीन उदासीन मठमा भव्य रूपमा सम्पन्न भएको छ । जगद्गुरु श्रीरामानन्दाचार्य सेवापीठ चतराधाम तथा महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान काठमाडौंद्वारा आयोजित समापन समारोह महायोगी सिद्धबाबाको सान्निध्यतामा सम्पन्न भएको हो ।

समारोहमा आयोजक संस्थाका पदाधिकारीहरू, पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष तथा पाटन दरबार संग्रहालयका कार्यकारी निर्देशक रमेशराज पौडेल, गुठी संस्थान काठमाडौं शाखाका प्रमुख हरि सुवेदी, पूर्व सचिवहरू, सुरक्षा निकायका पूर्व प्रमुख वरिष्ठ प्रशासकहरू, युवा–विद्यार्थी तथा श्रद्धालु भक्तजनहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

समापन समारोहलाई सम्बोधन गर्दै महायोगी सिद्धबाबाले नेपालका ऐतिहासिक, धार्मिक तथा आध्यात्मिक महत्व बोकेका स्थलहरूको संरक्षणलाई राष्ट्रिय प्राथमिकताको विषय बनाउनुपर्ने बताउनुभयो । उहाँले कुनै सम्पदाको महत्व केवल त्यसमा निर्मित संरचनाले निर्धारण गर्ने मात्र नभइ त्यसको भूमि, इतिहास, आध्यात्मिक परम्परा र पुरातात्विक महत्वले समेत निर्धारण गर्ने उल्लेख गर्दै यस्ता क्षेत्रहरूलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

उहाँले प्राचीन उदासीन मठजस्ता ऐतिहासिक सम्पदाहरू अतिक्रमणको जोखिममा रहेको उल्लेख गर्दै यस्ता धरोहरहरूको संरक्षणमा गुठी संस्थानलगायत सम्बन्धित निकायले विशेष चासो दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । स्थानीय तह र प्रदेश सरकारको सहयोगमा संरक्षणका प्रारम्भिक कार्यहरू सुरु भइसकेको जानकारी दिँदै आगामी दिनमा अझ व्यवस्थित संरक्षण अभियान सञ्चालन गरिनुपर्नेमा जोड दिनुभयो ।

धार्मिक तथा आध्यात्मिक संस्थाहरू आर्थिक रूपमा आत्मनिर्भर हुनुपर्ने भए पनि ठूला संरचना निर्माण गरी व्यावसायिक भाडाबाट सञ्चालन गर्ने प्रवृत्तिभन्दा भक्तजनको श्रद्धा, दान र सेवाभावमा आधारित आध्यात्मिक केन्द्रका रूपमा विकास हुनुपर्ने उहाँको धारणा थियो ।

सिद्धबाबाले ब्रह्महरिदासजीको साधना, तपस्या तथा जीवित भूसमाधिसँग जोडिएको प्राचीन उदासीन मठलाई नेपालकै महत्वपूर्ण आध्यात्मिक धरोहरका रूपमा विकास गर्नुपर्ने बताउनुभयो । पाशुपतयोग अर्थात् हिमालयन महायोग तथा ब्रह्महरिदासजीको साधना परम्परालाई केन्द्रमा राखेर यस स्थललाई अन्तर्राष्ट्रिय साधना केन्द्रका रूपमा स्थापित गर्न सकिने उल्लेख गर्दै त्यसका लागि महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानले आवश्यक समन्वय गरेको समेत स्मरण गराउनुभयो ।

कार्यक्रममा जगद्गुरु श्रीरामानन्दाचार्य सेवापीठ चतराधामका तर्फबाट पूर्वीय दर्शनमा आधारित आधुनिक शिक्षाको अवधारणाबारे जानकारी दिँदै “वेस्टर्न माइन्ड, इस्टर्न फिलोसोफी” अर्थात् पूर्वीय दर्शनमा आधारित पश्चिमा शिक्षाको मोडल सफलतापूर्वक कार्यान्वयनमा ल्याइसकिएको भन्दै अंग्रेजी माध्यममा सञ्चालन भइरहेको उक्त प्रणालीअन्तर्गत सामान्य परिवारका बालबालिकाले समेत काठमाडौंका सुविधासम्पन्न विद्यालयसरह गुणस्तरीय शिक्षा गुरुकुल पद्धतिबाट प्राप्त गर्न सक्ने व्यवस्था गरिएको बताउनुभयो । विश्व स्वास्थ्य संगठनले समेत ध्यान, मानसिक स्वास्थ्य र आन्तरिक सन्तुलनलाई विशेष प्राथमिकता दिएको सन्दर्भ उल्लेख गर्दै हिमालयन सिद्ध महायोगमार्फत आध्यात्मिक जागरणका माध्यमबाट मानसिक स्वास्थ्य प्रवद्र्धन तथा मानवीय चेतनाको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

यस अवसरमा चतराधाममा निर्माण गरिने दिव्य राम मन्दिरको महत्वाकांक्षी योजना समेत सार्वजनिक गर्दै महायोगी सिद्ध बाबाले भन्नुभयो, ’करिब १५० करोड रुपैयाँभन्दा अधिक लागतमा निर्माण हुने उक्त मन्दिर १०० फिट लम्बाइ, चौडाइ र उचाइको हुनेछ । अयोध्यामा प्रयोग गरिए जस्तै बंशी पत्थरबाट अयोध्याकै शैली र डिजाइनमा मन्दिर निर्माण गरिने बताउनुभयो । साथै हिमालयन सिद्ध महायोगलाई नेपाल र भारतमा मात्र सीमित नराखी विश्वव्यापी आध्यात्मिक अभियानका रूपमा विस्तार गरिने समेत बताउनुभयो ।

समारोहमा सशस्त्र प्रहरी बल नेपालका पूर्व प्रमुख शैलेन्द्रकुमार श्रेष्ठले महायोगी सिद्धबाबाजस्ता सिद्ध पुरुष नेपालका लागि अमूल्य सम्पत्ति भएको बताउनुभयो । वर्तमान समयमा राष्ट्रले प्राप्त गरेको सबैभन्दा ठूलो सम्पत्तिमध्ये एक आध्यात्मिक नेतृत्व नै भएको उल्लेख गर्दै उहाँले महायोगमार्फत नेपाललाई विश्वकै आध्यात्मिक केन्द्रका रूपमा स्थापित गर्न सकिने धारणा व्यक्त गर्नुभयो । उहाँले विशेषगरी युवापुस्तालाई हिमालयन महायोगसँग जोडिएर आत्मविकास, चरित्र निर्माण र राष्ट्रनिर्माणको अभियानमा सक्रिय रूपमा सहभागी हुन आह्वान गर्नुभयो ।

पूर्वसचिव विश्वप्रकाश पण्डितले नेपालको मौलिक आध्यात्मिक परम्परा, सांस्कृतिक सम्पदा र योग साधनाको संरक्षण तथा प्रवद्र्धनमार्फत राष्ट्रको गौरव अभिवृद्धि गर्न सकिने बताउनुभयो । उहाँले आध्यात्मिक चेतना, नैतिक मूल्य र सामाजिक उत्तरदायित्वको विकास आजको आवश्यकता भएको धारणा राख्नुभयो ।

पूर्व सचिव श्रीधर सापकोटाले महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानले अघि बढाएका अभियानहरू समाज रूपान्तरणका दृष्टिले महत्वपूर्ण रहेको बताउँदै प्रतिष्ठानलाई अझ प्रभावकारी तवरबाट अघि बढाउन राज्यस्तरबाट आवश्यक सहयोग हुनुपर्ने बताउनुभयो । साथै शुभेच्छुक, दातृ निकाय तथा समाजका सबै जिम्मेवार पक्षहरूले समेत संस्थालाई आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष तथा पाटन दरबार संग्रहालयका कार्यकारी निर्देशक रमेशराज पौडेलले प्राचीन उदासीन मठ ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक दृष्टिले अत्यन्त महत्वपूर्ण स्थल भएको उल्लेख गर्दै यसको संरक्षणका लागि महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानले गरिरहेको प्रयास प्रशंसनीय रहेको बताउनुभयो । उहाँले सम्बन्धित निकायका तर्फबाट समेत यस क्षेत्रलाई प्राथमिकताका साथ संरक्षण र प्रवद्र्धन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यसैगरी गुठी संस्थान काठमाडौं शाखाका प्रमुख हरि सुवेदीले प्रतिष्ठानले सम्पदा संरक्षण, योग साधना तथा आध्यात्मिक जागरणका क्षेत्रमा गरेको कार्य अनुकरणीय रहेको बताउँदै गुठी संस्थानका तर्फबाट आवश्यक सहयोग प्रदान गरिने प्रतिबद्धता जनाउनुभयो । महायोग साधनाबाट धेरै व्यक्तिहरूले प्रत्यक्ष लाभ प्राप्त गरिरहेको अनुभवसमेत उहाँले व्यक्त गर्नुभयो ।

एक महिनासम्म सञ्चालन भएको पुरुषोत्तम मास व्रत अनुष्ठान, रामार्चन यज्ञ तथा विविध धार्मिक कार्यक्रमहरूमा देशका विभिन्न भागबाट हजारौँ भक्तजन सहभागी भएका थिए । समापन समारोहमा महायोगी सिद्धबाबाले सहभागी भक्तजनहरूलाई आशीर्वाद प्रदान गर्दै धर्म, साधना, सेवा, संस्कार र मानव कल्याणको मार्गमा निरन्तर अग्रसर रहन प्रेरणा दिनुभएको थियो ।