पशुपति परिसरमा हत्या गरी फरार अभियुक्त महोत्तरीबाट पक्राउ


काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा एक व्यक्तिको हत्या गरी फरार रहेका अभियुक्तलाई प्रहरीले महोत्तरीबाट पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार गत फागुन ६ गते काठमाडौं महानगरपालिका–८ स्थित १५ नं. शिवालयमा संखुवासभा घर भएका सन्तोष गिरी भन्ने सन्तोष परियार मृत फेला परेका थिए ।

घटनाको अनुसन्धानका क्रममा हत्यामा संलग्न रहेको आरोपमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ घर भएका दर्बेनाथ भनिने सुविन रानामगरलाई महोत्तरीको गौशाला नगरपालिका–६ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका रानामगरलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि काठमाडौं ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।