सुनसरीमा ‘सुरक्षित सिटी सफारी चालक अभियान’ सुरु


धरान (सुनसरी)। सिटी सफारी सञ्चालनलाई व्यवस्थित, सुरक्षित र जिम्मेवार बनाउन सुनसरीमा सुरक्षित सिटी सफारी चालक अभियान सुरु गरिएको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले बुधबार क्युआर कोडसहितको ‘सुरक्षित चालक पोसाक’ वितरण गर्दै अभियानको औपचारिक शुभारम्भ गरेको हो ।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले इटहरीमा आयोजित कार्यक्रममा ३०० जना सिटी सफारी चालकलाई उक्त पोसाक वितरण गरे। पछिल्ला वर्षहरूमा इटहरी, धरान, विराटनगरलगायत पूर्वका प्रमुख सहरमा ई–रिक्सा (सिटी सफारी) को सङ्ख्या उल्लेख्य रूपमा बढेको छ । तर, दर्ता, रुट निर्धारण तथा सञ्चालनसम्बन्धी स्पष्ट कानुनी र नीतिगत व्यवस्था नहुँदा यसको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ ।

प्रहरीका अनुसार चालकको पहिचान सुनिश्चित गर्ने, यात्रुमा विश्वास अभिवृद्धि गर्ने तथा दुर्घटना र आपराधिक गतिविधिको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको तथ्याङ्कअनुसार पछिल्लो पाँच वर्षमा सिटी सफारीसँग सम्बन्धित दुई हजार ७३२ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा ११६ जनाको मृत्यु भएको छ भने तीन हजार ९७० जना घाइते भएका छन् ।

आर्थिक वर्ष २०७८/७९ मा २२, २०७९/८० मा २४, २०८०/८१ मा ३६ तथा २०८१/८२ मा १५ जनाको मृत्यु भएको थियो । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म थप १९ जनाले ज्यान गुमाइसकेका छन् । घाइतेको सङ्ख्या पनि उच्च रहेको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७८/७९ मा ६६८, २०७९/८० मा ७६२, २०८०/८१ मा ५९४ तथा २०८१/८२ मा ७५१ जना घाइते भएका थिए । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म एक हजार १९५ जना घाइते भएका छन् ।

तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८/७९ मा ४५३, २०७९/८० मा ५५२, २०८०/८१ मा ४४६ तथा २०८१/८२ मा ५८१ वटा दुर्घटना भएका थिए । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ७०० दुर्घटना भइसकेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी नायब महानिरीक्षक घिमिरेले बढ्दो सवारी चापसँगै ट्राफिक अनुशासन र सडक सुरक्षाको महत्व अझ बढ्दै गएको बताए । सुरक्षित चालक नै सुरक्षित यात्राको आधार भएको उल्लेख गर्दै उनले ट्राफिक नियमको पूर्ण पालना गर्न तथा जिम्मेवार ढङ्गले सवारी सञ्चालन गर्न चालकलाई आग्रह गरे ।

उनले क्युआर कोडसहितको चालक पोसाकले चालकको पहिचान स्पष्ट बनाउन सहयोग पुग्ने र यात्रुलाई सुरक्षित यात्राको अनुभूति दिलाउने विश्वास व्यक्त गरे । प्रहरीका अनुसार मोरङबाट सुरुआत गरिएको यो अभियान क्रमशः कोशी प्रदेशका अन्य जिल्लामा विस्तार गरिनेछ ।