‘सेवा र विकासका लागि युवा’ ले १९ जिल्लाका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने


काठमाडौँ । सामाजिक सेवा, शिक्षा, स्वास्थ्य तथा विपद् व्यवस्थापनका क्षेत्रमा क्रियाशील संस्था सेवा र विकासका लागि युवाले आर्थिक वर्ष २०८२/८३ मा देशका १९ जिल्लाका विद्यार्थीलाई लक्षित गर्दै बृहत् शैक्षिक सामग्री वितरण कार्यक्रम सञ्चालन गर्ने भएको छ।

काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा संस्थाले दुर्गम तथा पिछडिएका क्षेत्रका विद्यार्थीको शैक्षिक विकासमा टेवा पुर्याउने उद्देश्यले देशव्यापी अभियान सञ्चालन गर्न लागिएको जानकारी दिएको हो।

पत्रकार सम्मेलनमा संस्थाका पदाधिकारीहरूले विद्यालय तहमा अध्ययनरत विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराई शिक्षाको पहुँच र गुणस्तर अभिवृद्धिमा योगदान पुर्याउने लक्ष्य रहेको बताएका छन्। कार्यक्रममा विद्यार्थीका लागि आवश्यक झोला, कापी, कलम, पेन्सिल, नेपाली शब्दकोश, ज्यामिती बक्स, शैक्षिक पुस्तकलगायत सामग्री वितरण गरिने जानकारी दिइयो।

संस्थाले सार्वजनिक गरेको विवरणअनुसार पाँचथर, धनकुटा, ओखलढुंगा, सोलुखुम्बु, सिराहा, महोत्तरी, काठमाडौँ, बाग्लुङ, गोरखा, मनाङ, कास्की, प्युठान, मुगु, जुम्ला, कैलाली, डोटी, दार्चुला, बाजुरा तथा बाजाङ जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थी कार्यक्रमबाट लाभान्वित हुनेछन्।

पत्रकार सम्मेलनमा वितरण गरिएको विज्ञप्तिअनुसार संस्था वि.सं. २०७५/७६ मा जिल्ला प्रशासन कार्यालय चितवनमा दर्ता भई स्थापना भएको हो। सामाजिक तथा मानवसेवामूलक उद्देश्यसहित स्थापना भएको संस्थाले युवालाई राष्ट्र निर्माण तथा सामाजिक रूपान्तरणका कार्यमा सक्रिय बनाउने लक्ष्य राख्दै शिक्षा, स्वास्थ्य, सामाजिक सेवा र विपद् व्यवस्थापनका क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आएको जनाएको छ।

संस्थाले विगतका वर्षहरूमा देशका विभिन्न जिल्लामा शैक्षिक सामग्री तथा छात्रवृत्ति वितरण, प्राकृतिक विपद्का समयमा राहत तथा उद्धार सेवा, कपडा बैंक सञ्चालन, विद्यालय तथा छात्रावास निर्माणमा सहयोग, सरसफाइ अभियान, विचार गोष्ठी तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जानकारी दिएको छ।

संस्थाका पदाधिकारीहरूले नेपालको शिक्षा क्षेत्रको विकासमा विद्यालय, पुस्तकालय, छात्रावास तथा शैक्षिक पूर्वाधार निर्माणमा विभिन्न संघसंस्था र दातृ निकायको सहयोग महत्त्वपूर्ण रहेको उल्लेख गरे। विद्यार्थीलाई आवश्यक आधारभूत शैक्षिक सामग्रीको अभावले पढाइमा असर पुग्ने भएकाले यस्ता कार्यक्रमले शैक्षिक वातावरण सुधार्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ। विज्ञप्तिमा भनिएको छ, ’विद्यार्थी राष्ट्रका वर्तमान मात्र होइनन्, भविष्य पनि हुन्। उनीहरूको शैक्षिक, बौद्धिक तथा नैतिक विकासमा योगदान पुरयाउनु सम्पूर्ण समाजको साझा दायित्व हो।’

संस्थाले कार्यक्रम सफल बनाउन शिक्षाप्रेमी व्यक्ति, समाजसेवी, दातृ संस्था तथा शुभेच्छुकहरूलाई सहयोगका लागि आग्रह गरेको छ। साथै संस्थाले शैक्षिक सामग्री उपलब्ध गराउन सहयोग पुर्याउने मित्रराष्ट्र, भारतीय जनता तथा सहयोगी निकायहरूप्रति आभार व्यक्त गरेको छ।

पत्रकार सम्मेलनमा संस्थाका केन्द्रीय पदाधिकारी, समाजसेवी, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा वितरण गरिने शैक्षिक सामग्रीसमेत प्रदर्शन गरिएको थियो।

संस्थाका अनुसार शैक्षिक सामग्री वितरण अभियान केवल सामग्री हस्तान्तरणमा सीमित नभई शिक्षाप्रति सकारात्मक वातावरण निर्माण, विद्यार्थीको मनोबल वृद्धि तथा समावेशी विकासको अभियानका रूपमा अघि बढाइनेछ। सामाजिक उत्तरदायित्व र युवा नेतृत्वलाई केन्द्रमा राखेर सञ्चालन गरिने उक्त कार्यक्रमले देशका दुर्गम क्षेत्रका हजारौँ विद्यार्थीलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।