दिक्तेल–चखेवाभञ्ज्याङ सडक: माम्खामा निर्माणाधीन पर्खाल भासिँदा छ घर जोखिममा


खोटाङ । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको माम्खामा ग्याबिन बाल (तारजालीसहितको पर्खाल) बनिनसक्दै भासिएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित माम्खामा निर्माणाधीन ग्याबिन वाल दोस्रो पटक बनिनसक्दै भासिएको हो ।

सडक डिभिजन कार्यालय हर्कपुरको ‘हाइवे इम्प्रोभमेन्ट वर्कस’ अन्तर्गत योजनामार्फत हालिएको ग्याबिन बाल यही जेठ १५ गतेदेखि भासिन थालेको स्थानीयले बताएका छन् । निर्माण कम्पनी दोभान निर्माण सेवा धनकुटाले ग्याबिन वालको काम अन्तिम चरणमा पुर्‍याएको अवस्थामा सकिनुअगावै वालको बीच भाग भासिएको हो ।

तारजाली भर्दै सडकसम्म अग्लो पर्खाल निकालिसकिएको र त्यसमाथि माटो फिलिङ गरेर सम्याउने काम सक्नुअगावै पर्खाल भासिएको ठेकेदार कम्पनीले जनाएको छ । माम्खामा भित्तातिरको चट्टान काटेर सडक चौडा बनाए मात्र दीर्घकालीन समस्या समाधान हुने स्थानीयले बताउँदै आएका छन् ।

सडकको ग्वाबिन वाल भासिएपछि त्यसभन्दा तलका बस्तीमा रहेका घरहरू पहिरोको जोखिममा परेका छन् । स्थानीय भीमराज राई, देवेन्द्र राई, हर्कमान राई, लोकेन्द्र राई, हेमराज राई र नरबहादुर राईको घर पहिरोको जोखिममा परेको हो ।

ग्याबिन वाल भासिएपछि त्यसभन्दामुनिका मकैबारीसमेत चर्किएको छ । कतिपयले बलियो जग नभेट्दै ठेकेदारले पर्खाल उठाएका कारण भासिएको आरोप लगाएका छन् भने, कतिपयले कमजोर भू–बनोटका कारण पर्खाल भासिएको बताएका छन् । दिक्तेल–चखेवाभञ्ज्याङ सडक कालोपत्रकै चरणमा सो स्थानमा हालिएको आरसिसी वाल पनि भासिएको थियो । आरसिसी वाल ढल्किएर सडकभन्दा तल पुगेपछि सो स्थानमा हालसम्म सडकलाई साँघुरै अवस्थामा छाडिएको थियो ।

सकड कालोपत्र भएको लामो समयसम्म अधुरै अवस्थामा राखिएको माम्खामा सडकको ग्याबिन वाल भासिएपछि सडक डिभिजन हर्कपुरका सिनियर डिभिजन इन्जिनियर सविन जोशी नेतृत्वको टोली निरीक्षण गर्न माम्खा पुगेका थिए । माम्खामा भासिएको पर्खालको विषयमा प्राविधिक टोलीको प्रतिवेदन आएपछि मात्रै निर्माणको काम पुनःअगाडि बढाउने ठेकेदार कम्पनीले जनाएको छ ।

कमजोर भू–बनोटका कारण निर्माणाधीन पर्खाल भासिएको देखिएको इन्जिनियर जोशीले प्रतिक्रिया दिए । “माम्खामा देखिएको केस अलि बेग्लैखालको छ । त्यहाँ काम गर्ने ठेकेदारको त्रुटी पनि देखिएका छैन”, उनले भने, “यस विषयमा सम्बन्धित विज्ञसँग सल्लाह गरिरहेका छौँ । के गर्दा दीर्घकालीन समस्या समाधान हुन्छ । त्यसपछि मात्रै प्रक्रिया अगाडि बढाउने तयारी गरेका छौँ ।”

दोभान निर्माण सेवाले गत वैशाख ६ गतेसम्ममा सक्नेगरी विसं २०८२ मङ्सिर ४ गते ठेक्का सम्झौता गरेको थियो । तर, काम सम्पन्न नभएपछि असार १५ गतेसम्म म्याद थप गरिएको सडक डिभिजन कार्यालय हर्कपुरले जनाएको छ ।

दिक्तेल–चखेवा सडकखण्डको विभिन्न ठाउँमा ग्याबिन वाल, प्लम वाललगायतका काम गर्नका लागि रु दुई करोड ७९ लाख ७७ हजार ९१२ मा ठेक्का लगाइएको सडक डिभिजन कार्यालयले जनाएको छ । माम्खामा निर्माणाधीन ग्याबिन वाल अन्तिम चरणमा भासिएपछि निर्माणको काम ठप्प भएको छ । दिक्तेल–चखेवा सडकखण्डकै पङ्खुखोलामा निर्माणाधीन पक्की पुल अलपत्र छ । पक्की पुल अभावमा वर्षाद्का समयमा यातायात सेवासमेत अवरुद्ध हुँदै आएको पङ्खुखोलामा श्रम संस्कृति पार्टीमा आबद्ध श्रमदाताले काठको पुल निर्माण गरेका छन् ।

पङ्खुखोलामा पक्की पुल नहुँदा बिरामी र विद्यार्थी सबैभन्दा बढी समस्यामा परेकाले मोटरसाइकल र अटो वारपार गर्न मिल्नेगरी काठको पुल निर्माण गरिएको बुवालुङका पार्टी अध्यक्ष धनप्रसाद राईले जानकारी दिए । श्रमदाताले तीन दिन लगाएर निर्माण गरेको काठको पुलले आवतजावतमा सहज भएको स्थानीयले बताएका छन् ।

दिक्तेल–चखेवा सडकखण्डकै सेखुवाखण्डको १० किलोमिटर कालोपत्रमा ठेकेदार कम्पनीको चरम लापरबाही देखिएको छ । विसं २०७५ फागुन ३० सम्ममा सम्पन्न गर्नेगरी भारत कन्स्ट्रक्सन–मैनाचुली–सिद्धिशाही जेभीले रु ३२ करोडमा विसं २०७२ चैत २ गते सम्झौता गरेको यो सडक अहिले अलपत्र अवस्थामा छ ।