ट्याक्टर दुर्घटना हुँदा भक्तपुरमा दुई जनाको मृत्यु, नौ घाइते


भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका–८ मञ्जुश्री गुम्बानजिक बुधबार साँझ भक्तपुरतर्फ फर्किंदै गरेको ट्याक्टर पल्टिँदा दुई जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।

ट्याक्टर पल्टिएर च्यापिँदा भोजपुर नगरपालिका घर भई हाल काठमाडौँको सिनामङ्गल बस्ने ३२ वर्षीय विजय राई र सिन्धुली घर भई हाल काठमाडौँको सिनामङ्गल बस्ने २६ वर्षीय हेमबहादुर नेपालीकोे ज्यान गएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए ।

कलमसीस्थित एक होटलमा ढलानको काम सकेर १२ मजदुर बोकेर फर्कंदै गरेको ट्र्याक्टर ‘ब्रेक फेल’ भई दुर्घटना भएको थियो । घाइते मजदुरहरुको भक्तपुरको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।