सशस्त्र प्रहरी सहायक हवल्दार कार्कीद्वारा सगरमाथाको सफल आरोहण


काठमाडौँ । सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन् । उनले आइतबार बिहान १० बजेर २० मिनेटमा सफलतापूर्वक सगरमाथाको चुचुरोमा पुग्दै इतिहास रचेकी सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।

सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट सगरमाथा आरोहण गर्ने उनी तेस्रो सशस्त्र प्रहरी कर्मचारी हुन् भने महिला कर्मचारीहरूमध्ये पहिलो आरोही बन्न सफल भएकी छन् ।

कार्कीले सशस्त्र प्रहरी बल नेपालको पर्वतीय उद्धार तालिम शिक्षालयबाट उन्नत पर्वतीय उद्धार तालिम प्राप्त गरेकी छन् । साथै उनले मनाङ जिल्लास्थित चुलु फार इष्ट हिमाल तथा लोबुचे हिमालको समेत सफल आरोहण गरिसकेकी छन् ।

राष्ट्रिय स्तरकी फेन्सिङ खेलाडीसमेत रहेकी रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका–१, चुचुरेमा जन्मिएकी आरोही कार्कीले खेलकुद, अनुशासन, साहस र उच्च मनोबलको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै सशस्त्र प्रहरी बल नेपालको गौरवलाई अझ उँचो बनाएको सशस्त्र प्रहरीले जनाएको छ ।

उनको सगरमाथा आरोहण अभियानमा शेर्पा निमा साङ्गे शेर्पाले मार्गदर्शक तथा सहयोगीको भूमिका निर्वाह गरेका थिए ।