नेपालबाट अबैध रुपले भारततर्फ लैजाँदै गरेको सामानसहित सिरहामा दुई जना नियन्त्रणमा


सिरहा । सशस्त्र प्रहरीले सिरहाको नवराजपुर गाउँपालिका–५ देवनगरस्थित सीमा इलाकाबाट गएराति १९ लाख ४७ हजार ३ सय रुपैयाँ बराबरको सामानसहित ट्रक नियन्त्रणमा लिएको छ । सोही ठाउँका ५० वर्षीय राजेश यादव र ३९ वर्षीय आनन्द यादवलाई नं. ७ गण सिरहाबाट खटिएको गस्ती टोलीले नियन्त्रणमा लिएको हो ।

स १ ख ५३५ नम्बरको ट्रकमा राखेर नेपालबाट अबैध रुपले भारततर्फ लैजाँदै गरेको कस्मेटिक सामान, टुथ पेस्ट, २ सय ६० केजी ओखरसहित गाडी समेत विशेष सूचनाको आधारमा नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

नियन्त्रणमा लिइएका दुवै जनालाई नेपाल प्रहरीलाई बुझाइएको छ भने बरामद सामान भन्सार बुझाउने प्रक्रियामा रहेको उनले बताए ।