दाङ । दाङको बेलझुन्डी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थालाई ऋणले च्यापेपछि महसुल वृद्धि गरिएको छ। संघको शनिबार भएको ११औं साधारणसभाबाट महसुल वृद्धि गरिएको हो। संस्थाका सचिव मुकेश वलीका अनुसार यसअघि १२ हजार युनिटसम्मको एक सय रुपैयाँ थियो, तर अहिले त्यसलाई बढाएर एक सय ६० रुपैयाँ बनाइएको छ।
संस्थाले सहलगानी सम्पन्न गर्नका लागि तुलसीपुर उपमहानगरपालिकाबाट लिएको एक करोड १५ लाख सापटी, नगर विकास कोषबाट लिएको ६ करोड ८९ लाख २६ हजार ऋण लिएको थियो। जसमध्ये अहिलेसम्म नगर विकास कोषलाई सावाँ र ब्याज गरी एक करोड २६ लाख ३२ हजार ३९४ मात्रै तिरिएको छ। तुलसीपुर उपमहानगरपालिकाको सापटी रकम तिर्नका लागि पनि ताकेता गरिरहेको छ। यसले गर्दा खानेपानीको महसुल बढाउनुपर्ने अवस्था आएको सचिव वलीले बताए।
संस्थाको ३२ करोड छ लाख लागतमा सहलगानीको काम भएको हो। नेपाल सरकारको सहलगानी आयोजनाअन्तर्गत भएको काममा सरकारले ३० करोड ७३ लाख ६५ हजार उपलब्ध गराएको थियो। त्यसको २० प्रतिशत उपभोक्ताले तिर्नुपर्ने हुन्छ। त्यही उपभोक्ताले तिर्नुपर्ने रकमका लागि लिइएको ऋण तथा सापटी तिर्न निकै कठिन भएको छ। हाल खानेपानीको वार्षिक आम्दानी ७० लाख हाराहारीमा रहेको कोषाध्यक्ष वसन्त थापाले बताए।
साधारणसभाले कार्यसमितिको कार्यकाल चार वर्ष बनाएको छ। यसअघि तीनवर्षे कार्यकाल थियो। त्यसलाई बढाएर चारवर्षे बनाइएको अध्यक्ष प्रदीप गौतमले बताए। त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले साना खानेपानी संस्थाहरूलाई नजिकैको ठूलो खानेपानी संस्थामा मर्ज गर्ने बताए। त्यसो गर्दा नै राज्यको लगानी सही रूपमा सदुपयोग हुने उनको भनाइ थियो।

प्रतिक्रिया