उदयपुरको चौदण्डीगढी नगरपालिकामा आगलागीमा परी दुई जनाको मृत्यु


उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–७, बेल्टार बजारमा गएराति आगलागीबाट दुई जनाको मृत्यु भएको छ । आगलागीबाट लक्ष्मीनारायण खड्का र पवन खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख राजन चापागाईले जानकारी दिएका छन् ।

आगालागीबाट लक्ष्मीनारायण र रविनकुमार दासको घर पूर्ण रूपमा ध्वस्त भएको छ । लक्ष्मीनारायणको घरमा रहेको पुस्तक पसलको गोदाम समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । लक्ष्मी नारायणको किचन घरमा विद्युत् सर्टका कारण आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

काठको घर भएकाले सहजै आगलागी भएको प्रहरीको भनाई छ । आगो नियन्त्रणका लागि चौदण्डीगढी नगरपालिका, त्रियुगा नगरपालिका, रौतामाई गाउँपालिका र सप्तरीको कञ्चनरूप नगरपालिकाबाट दमकल खटिएका थिए ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी तथा स्थानीयवासीको सक्रिय सहयोगमा करिब तीन घण्टापछि आगो नियन्त्रणमा लिइएको जनाइएको छ ।