पशुपतिलाई भ्रष्टाचार मुक्त क्षेत्र बनाउँछौँः कोषाध्यक्ष सापकोटा


काठमाडौं । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष श्रीधर सापकोटाले आगामी एक वर्षभित्र कोषलाई सूचना प्रविधि(आइटी वेस) संस्था बनाउने घोषणा गरेका छन् ।

सोमबार विकास कोषको ४० औं वार्षिकोत्सव समारोहमा आयोजित कार्यक्रममा उनले कोषको प्रशासन व्यवस्थालाई चुस्त दुरुस्त बनाउनको लागि पनि आइटीमा जानुको अर्को विकल्प नभएको बताए ।

उनले भने,‘हामीले अब एक वर्षभित्र ४१ औं वार्षिकोत्सव मनाउने उपलक्ष्यमा यो एक वर्षभित्र पशुपति क्षेत्रलाई आइटी वेस संस्था बनाऊ । त्यसको लागि पनि प्रण गरौं । त्यो नभई अब चल्ने अवस्था छैन । हाम्रो प्रशासन व्यवस्थालाई चुस्त दुरुस्त बनाउन पनि हामी सबै प्रणालीलाई आइटी वेसमा लादैछौं । यो एक वर्षभित्र यो गर्ने छौं ।’

त्यस्तै उनले पशुपति क्षेत्रलाई भ्रष्टाचार मुक्त क्षेत्र बनाउने पनि जानकारी दिए । भगवान पशुपतिनाथलाई साक्षी राखेर भ्रष्टाचारको शून्य सहनशिलता कायम गर्ने छौं भनेर सबैले प्रण गर्ने बेला आएको उनको भनाई छ ।