गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति लुकाउने शाखा अधिकृतसहित परिवारका पाँच जनाविरुद्ध सम्पति शुद्धीकरणको मुद्दा


काठमाडौं । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखराका निलम्बित लेखा अधिकृत झलक शर्मा पौडेलसहित पाँच जनाविरुद्ध सम्पत्ति शुद्धीकरण अभियोगमा मुद्दा दायर भएको छ ।

सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । पौडेलले गैरकानुनी रूपमा आर्जन गरेको रकममध्ये दुई करोड ५८ लाख ६७ हजार ३२४ रुपैयाँ ५३ पैसा बराबरको सम्पत्तिको स्रोत लुकाउने उद्देश्यले सम्पत्ति शुद्धीकरण गरेको दाबी अख्तियारको छ ।

अख्तियारले गैरकानुनी रूपमा आर्जन गरिएको सम्पत्तिको स्रोत लुकाउने, छल्ने तथा स्वामित्व परिवर्तन गर्ने कार्यमा पौडेलसहित उनको परिवार संलग्न रहेको दाबी गरेको छ । सम्पत्ति शुद्धीकरणमा सहयोग गर्न मतियारको भूमिकामा रहेको भन्दै पौडेल पत्नी हुमा कुमारी उपाध्याय, परिवारका सदस्यहरू जमुना कुमारी रोका क्षेत्री, हरिप्रसाद पौडेल र शान्ति दराई पौडेललाई समेत प्रतिवादी कायम गरिएको छ । उनीहरूलाई मुख्य अभियुक्त पौडेललाई हुने सजायको आधा सजाय माग गरिएको छ ।

अख्तियारले एक करोड ७० लाख १३ हजार ५० रुपैयाँ ७७ पैसा जफत गर्नसमेत अदालत समक्ष माग गरेको छ । पौडेलविरुद्ध यसअघि पनि ६ करोड २६ लाखभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेको छ ।