नयाँ सरकार गठन भएसँगै अमेरिकाले घटायो ‘ट्राभल एड्भाइजरी’ मा जोखिम स्तर


काठमाडौं । अमेरिकाले नेपाल भ्रमण गर्ने आफ्ना नागरिकका लागि जारी गर्दै आएको ‘ट्राभल एड्भाइजरी’ को जोखिम स्तर घटाएको छ । नयाँ सरकार गठन भएसँगै अमेरिकाले नेपालको सुरक्षा स्थितिमा सुधार आएको भन्दै जोखिम स्तरलाई (लेभल २) मा झारिएको जनाएको छ ।

अद्यावधिक गरिएको एड्भाइजरीमा सन् २०२५ को सेप्टेम्बरदेखि सुरु भएका देशव्यापी प्रदर्शनहरू हाल रोकिएको र समग्र सुरक्षा स्थिति स्थिर रहेको उल्लेख गरिएको छ। यद्यपि, विशेषगरी सहरी क्षेत्रहरूमा पूर्वसूचना विना नै अचानक प्रदर्शन र स्थानीय अशान्तिहरू अझै पनि हुन सक्ने र ती छिट्टै हिंसात्मक बन्न सक्ने सम्भावना रहेकोतर्फ अमेरिकी सरकारले आफ्ना नागरिकलाई सचेत गराएको छ।

यस्ता सम्भावित जोखिमबाट बच्न ठूला भिडभाडबाट टाढा रहन र स्थानीय अधिकारीहरूको निर्देशन कडाइका साथ पालना गर्न सुझाव दिएको छ ।