कैलालीका विद्यार्थी आसिस जोशीले बनाए विद्युतीय मोटरसाइकल


कैलाली । निजी क्षेत्रबाट सञ्चालित धनगढीको सिसिएस विद्यालयका विद्यार्थी आसिस जोशीले रिमोटबाट चल्ने विद्युतीय मोटरसाइकल बनाएका छन् । मोटरसाइकल निर्माणमा सफलता पाउन सुदूरपश्चिम एकेडेमीका पूर्वविद्यार्थी सागर खनाल तथा घरपरिवारबाट प्रेरणा मिलेको उनले बताए ।

कवाडी सामानबाट अढाई हप्ता लगाएर घरमै मोटरसाइकल बनाएको र लागत खर्च रु ८० हजार लागेको जोशीले जानकारी दिए । “यो मोटरसाइकल रिमोटका अलावा सामान्य चाबीले स्टार्ट गर्न सकिन्छ”, उनले भने, “अत्तरियाको जेसिज एभरेष्ट स्कुलमा एक वर्षअघि भएको विज्ञान प्रदर्शनीको अध्ययन अवलोकनका क्रममा पनि आफूलाई सिक्ने प्रेरणा जागेको थियो ।”

मोटरसाइकल निर्माणमा फलामे कवाडी सामान, ब्याट्री, कन्ट्रोलर, मोटरलगायत प्रयोग गरिएको छ । प्रयोग भएको ब्याट्री, कन्ट्रोलर र मोटर काठमाडौँबाट मगाइएको थियो । धनगढी उपमहानगरपालिका–१३ राजपुर निवासी जोशीले भने, “अध्ययनसँगसँगै आफ्नो क्षमतालाई बाहिर ल्याउने प्रयास गर्दा सफलता मिल्यो, यो मोटरसाइकल एकपटक रिचार्ज गरेमा प्रतिघण्टा ४५ किलोमिटरको गतिमा ८० किलोमिटर दूरीसम्म चलाउन सकिन्छ ।”

छोराले मोटरसाइकल बनाएर प्रतिभा देखाएको भन्दै आफू हर्षित भएको उनका बुबा दुर्गा जोशीले बताए । कक्षा १२ मा अध्ययनरत जोशीलाई विद्यालयले छात्रवृत्तिसमेत प्रदान गरेको छ ।