कर्णाली राजमार्गका चार रुग्ण ठेक्का तोडिए


जुम्ला । जुम्लास्थित सडक डिभिजन कार्यालयले कर्णाली राजमार्ग सडकखण्डअन्तर्गतका चार रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु गरेको छ । बिहीबार सार्वजनिक सूचना प्रकाशित गर्दै सडक कार्यालयले ठेक्का सम्झौता गरेर पनि समयमा काम सम्पन्न नगरेपछि ठेक्का अन्त्य गरिएकोसम्बन्धी १५ दिने सार्वजनिक सूचना निकालिएको सडक डिभिजन कार्यालयका सूचना अधिकारी सौरभकुमार सिंहले जानकारी दिए ।

कार्यालयले कर्णाली राजमार्गअन्तर्गतका चार रुग्ण अवस्थाका ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको हो । डिभिजन कार्यालयको आफ्नो कार्यक्षेत्रभित्र पर्ने कालीकोटका दुई, मुगुको नाग्म–गमगडी सडकखण्डको एक र जुम्ला डोल्पा हुँदै मनाङ–मुस्ताङ जोड्ने सडकको ठेक्का तोड्ने प्रक्रियाअन्तर्गत सार्वजनिक सूचना जारी गरी सम्बन्धित निर्माण व्यवसायीलाई जानकारी गराएको सडक सूचना अधिकारी सिंहले बताए ।

सडक डिभिजनअन्तर्गत कालिकोट, जुम्ला र मुगु जिल्लामा सञ्चालित ठेक्कामध्ये आर्थिक वर्ष २०७८/७९ सडक सुधार कार्यअन्तर्गत मनाङ मुस्ताङ हुँदै डोल्पा जुम्ला सडक किनारामा घुमाउरो संरचना र फुटपाथको पहिलो प्याकेजको ठेक्काको काम काशीयाय निर्माण सेवा कलंकी काठमाडौंसँग सम्झौता भई उल्लेखित मितिमा निर्माण कार्य सम्पन्न गर्नुपर्नेमा सो हुन नसकी पटक–पटक म्याद थप गरिएको र थपिएको म्यादसमेत समाप्त भइसकेकाले ठेक्का तोडिएको हो ।

यसैगरी आव २०७६/७७ मा नाग्म–गमगडी सडकको सुधार कार्यको ठेक्का शंकर माली निर्माण सेवा काठमाडौं र आव २०७५/७६ मा दुई ठेक्का कालीकोटको सेरीघाटमा सडक सुधार कार्य र दहीखोलादेखि नाग्म बजारसम्म सडकको मर्मत कामको ठेक्का सम्झौता मन शाही निर्माण सेवा कालीकोटसँग भएको थियो ।

निर्माण व्यवसायीलाई लिखित तथा मौखिक रूपमा कार्य सम्पन्न गर्न पटक–पटक अनुरोध गर्दा पनि ठेक्का सम्झौताका शर्त बमोजिम आफ्नो दायित्व पूरा नगरेको हुँदा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ (२) अनुसार ठेक्का अन्त्य गरिएको सडक डिभिजन कार्यालयका निमित्त डिभिजन प्रमुख श्रवणकुमार महतराले जानकारी दिए ।

सम्झौताअनुसार काम गर्न, गराउन पटकपटक ताकेता गरे पनि काम नभएपछि बाध्य भई ठेक्का रद्द गर्ने क्रममा सूचना जारी गरिएकाे कार्यायले जनाएकाे छ । कार्यालय प्रमुख महतराले प्रचलित नियमानुसार ठेक्का प्राप्त गरी काम नगर्ने निर्माण व्यवसायीलाई जमानत जफतसहित अन्य कानुनी कारबाही हुने बताए ।

आर्थिक वर्ष २०७५/७६ देखि २०७८/७९ सम्म सडक डिभिजन कार्यालयको कार्यक्षेत्रभित्र चार ठेक्का सम्झौता भएका, सम्झौताअनुसार काम नभएपछि पटकपटक ताकेता गरेको र धेरै पटकभन्दा पनि काम नभएपछि ठेक्का तोड्ने प्रक्रिया अघि बढेको उनको भनाइ छ ।

ठेक्का सम्झौताबमोजिम निर्माण व्यवसायीलाई यथाशीघ्र कार्यस्थल छोडन साथै सोही सम्झौताबमोजिम भुक्तानी हुन बाँकी स्वीकार्य रूपमा सम्पन्न भइसकेका कुनै कार्य भएमा प्रकाशित सूचनाभित्रमा निर्माण व्यवसायीलाई कार्यालयमा सम्पर्क राखी वित्तीय फरफारक गर्नसमेत अनुरोध गरिएको कार्यालयले जनाएको छ ।