काठमाडौं । प्रहरीले चोरी तथा सुनका गरगहनाको स्वरूप परिवर्तन गर्ने अपराधमा संलग्न पाँच जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ।
धादिङको गङ्गाजमुना गाउँपालिका-७ फुलखर्क घर भई हाल काठमाडौँ तारकेश्वर नगरपालिका-१० शेषमती बस्ने २२ वर्षीय प्रशन्न अधिकारी, नवलपरासी (पूर्व), कावासोती नगरपालिका-१७ घर भई हाल काठमाडौँ महानगरपालिका-२६ बस्ने २८ वर्षीय प्रदिप गुरूङ, ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-९ घर भई काठमाडौँ महानगरपालिका–२६ सामखुशी बस्ने २९ वर्षीय लाक्पा शेर्पालाई प्रहरीले पक्राउ गरेको छ।
यस्तै, रसुवाको नौकुण्ड गाउँपालिका-५ घर भई काठमाडौँ महानगरपालिका-२६ बस्ने २८ वर्षीय सागर कामी र भारतको महाराष्ट्रको सोलपुर जिल्ला तान्दुलवाडी थाना खोरेबस्ती ग्राम घर भई काठमाडौँ महानगरपालिका-१५ बस्ने २८ वर्षीय गौरव गुणाजी मोरे पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।
उनले भने ‘काठमाडौँ चन्द्रागिरि नगरपालिका-१५ तिनथानास्थित एक घरबाट एक दशमलव पाँच तोलाको सुनका सिक्री, एक तोलाको औँठी, आधा तोलाको झुम्का एक जोर, आधा तोलाको तिलहरी, मोबाइल दुई थान र नगद पाँच हजार चोरी भएको भनी प्राप्त निवेदनका आधारमा अनुसन्धान तथा खोजतलास गर्दा उक्त चोरी तथा सुनका गरगहनाको स्वरूप परिवर्तन गर्ने अपराधमा निजहरूलाई पक्राउ गरिएको हो।’
पहेँलो धातु २३ दशमलव ३० ग्राम र चोरीमा प्रयोग भएको बा ६६ प १७६६ नम्बरको मोटरसाइकलसहित मिति काठमाडौँ महानगरपालिका-२६ गल्कोपाखा बागमती ड्राइभिङ सेन्टर अगाडिबाट निजहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूलाई काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए।

प्रतिक्रिया