कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि


कीर्तिपुर । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका ठूलो संख्याका कागहरूमा बर्डफ्लु संक्रमित भएको पुष्टि भएको छ । कीर्तिपुर नगरपालिका तथा पशु स्वास्थ्य विभागको संयुक्त टोलीले त्रिवि परिसरमा मृत फेला परेका ६८ वटा काग सङ्कलन गरी मंगलबार पुरेको छ ।

‘त्यहाँ अझै मरेका काग भेटिएका छन्, मरेका सबै काग आज संकलन गर्न नसकिएकाले भोलि पनि काम जारी राख्ने छौं’, नगरपालिकाकी पशुसेवा प्रमुख सुशीला गैरेले बताइन् । उनका अनुसार शाखामा एक साताअघि स्थानीय व्यक्तिले त्रिविको वीरेन्द्र राज्याभिषेक उद्यानमा कागहरू मरेको खबर गरेका थिए ।

प्रमुख गैरेका अनुसार परीक्षणका लागि १० वटा मृत काग पशुसेवा विभागको प्रयोगशालामा पठाइएको थियो । प्रयोगशालामा परीक्षण गरेपछि ती कागमा बर्डफ्लु पुष्टि भएको हो । त्यसपछि नगरपालिका र पशुसेवा विभागका टोलीले आज मरेका काग संकलन गर्ने निर्णय गरेको थियो ।

साथै सोही स्थानमा अन्य पंक्षी मृत भेटिएमा सोको नमूना संकलन गर्न निर्देशन पनि टोलीलाई दिइएको थियो । सोहीअनुसार आज अपराह्न ३ बजेदेखि मृत काग संकलन गर्न थालिएको थियो । आज संकलन गरिएका ६४ वटा काग खाल्डो खनी गाडिएको छ ।