२४ घण्टामा विपद्मा परी तीन जनाको मृत्यु


काठमाडौं । मौसम बदलीसँगै पछिल्लो २४ घण्टामा भएको विपद्जन्य घटना (हावाहुरी र चट्याङ) का कारण तीन जनाको मृत्यु भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हावाहुरी चट्याङ र असिनापानीले ३० जिल्ला प्रभावित भएकामा तीन जनाको मृत्यु भएको हो । चट्याङ लागेर एक र हावाहुरीबाट दुई जनाको मृत्यु भएको हो ।

कुल ४१ वटा विपद्जन्य घटनामध्ये चट्याङबाट तीन र हावाहुरीबाट दुईजना घाइते भएका छन् ।

प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार हावाहुरीका मात्रै १७ र चट्याङका पाँच घटना भएका थिए । ती घटनामा छ पशु चौपाय मरेका छन् भने नौ लाख बढीको क्षति भएको प्राधिकरणले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

नेपालमा पछिल्लो एक सातादेखि मौसम बदली भई हावाहुरी, चट्याङ र असिनापानी परिरहेको छ । मौसम विज्ञान विभागले यो क्रम अझै केही दिन जारी रहने जनाएको छ ।