इनिशाको न्यायको माग गर्दै काठमाडौँमा प्रदर्शन


काठमाडौँ । सुर्खेतमा बलात्कारपछि हत्या गरिएकी इनिशा विकको न्यायको लागि बिहीबार काठमाडौँमा प्रदर्शन गरिएको छ । जात व्यवस्था उन्मूलन मोर्चा नेपाल र वैज्ञानिक समाजवादी विद्यार्थी संगठनको अगुवाइमा माइतीघर मण्डलामा प्रदर्शन भएको हो ।

उनीहरूले हत्या घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् । प्रदर्शनकारीले ‘इनिसा विकलाई न्याय दे, बलात्कारीलाई फाँसी दे, लगायतका नारा लेखिएको प्लेकार्ड बोकेका थिए । घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोली सुर्खेत पुगेको छ ।

प्रहरीका अनुसार हालसम्म परिवारजनले बालिकाको शव बुझेका छैनन् । पीडित परिवारले दिएको जाहेरीका आधारमा शव परीक्षणका लागि थप अनुसन्धान गर्न भेरी अस्पताल बाँकेका फरेन्सिक विशेषज्ञ डा अर्विन शाक्यको टोलीले प्रदेश अस्पताल सुर्खेतमा पुगेर शवपरीक्षण गरी त्यसको प्रतिवेदन दिएको छ । सो प्रतिवेदनअनुसार करणी गर्दा मृतकको संवेदनशील अङ्ग च्यातिएको र अत्यधिक रक्तस्राव हुँदा मृत्यु भएको उल्लेख छ ।

गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१ सुर्खेतमा बस्दै आएकी १६ वर्षीया इनिशा उषा बालवाटिका स्कुल सुर्खेतमा ११ कक्षामा अध्ययनरत थिइन् । परिवारका अनुसार उनी शनिबार बिहान ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएकी थिइन् । तर बिहान ९ बजेतिर स्थानीयले जनजागरण सामुदायिक वनमा अचेत अवस्था भेटिएकी थिइन् ।

उनलाई प्रहरीले प्रदेश अस्पताल सुर्खेत कालागाउँ पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । मृतकका आफन्तले यही फागुन २५ गते जिल्ला प्रहरी कार्यालय उजुरी दिएका थिए । घटनामा संलग्न भएको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।