भाषा आयोगका सदस्य सुरेश मानन्धरको निधन


काठमाडौँ । भाषा आयोगका सदस्य एवं नेपालभाषा टाइम्सका पूर्वसम्पादक, साहित्यकार सुरेश किरण मानन्धरको ५९ वर्षको उमेरमा सोमबार साँझ निधन भएको छ ।

मानन्धरलाई अकस्मात हृदयघातसँगै शिक्षण अस्पतालको मनमोहन कार्डियाक सेन्टरमा लगिएको थियो । अस्पताल पुर्याएको केही समयपछि नै चिकित्सकहरूले उनलाई मृत घोषित गरेको उनका परिवारका सदस्यले जानकारी दिएका छन् ।

उनी ‘इनाप’ साप्ताहिकबाट पत्रकारितामा संलग्न भएका र पछि ‘विश्वभूमि’ दैनिक प्रकाशनबाट पूर्णकालीन पत्रकारका रूपमा काम गरेका थिए । पछि सन्ध्या टाइम्स दैनिक र त्यसपछि नेपाल भाषा टाइम्स दैनिकमा सम्पादक भएर काम गरे । ‘अप्सरा’ फिल्मम्यागेजिन, ‘कोशल्वहं’ कविता त्रैमासिक पत्रिका, नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशन हुने ‘थाय्भु’ लगायतका पत्रपत्रिकाको सम्पादक मण्डलमा बसी उनले केही समय काम गरे ।

उनले विसं २०४६ मा जनआन्दोलनको समयमा प्रहरीको कडा घेराभित्र वीर अस्पतालमा भर्ना भइराखेका जनआन्दोलनका कमाण्डर गणेशमान सिंहसँग साथी सुजिव बज्राचार्यसँगै डाक्टरको भेषमा गई अन्तर्वार्ता लिएका थिए । जुन धेरै चर्चित भएको थियो ।

स्व मानन्धरको ‘नेपालभाषा आन्दोलन’, ‘नेपाल संवत् आन्दोलन’, नेवाः संस्कृतिका साथसाथै विविध विषयमा नेपालभाषा र नेपालीमा लेख रचना प्रकाशित छ । उनले गोरखापत्र, कान्तिपुर, नेपाल समाचारपत्र, रातोपाटी, सेतोपाटी, नागरिक दैनिकमा स्तम्भकारका रूपमा समेत लेख रचना लेख्नुका साथै जनआस्थालगायत विविध नेपालभाषाका पत्रपत्रिकामा व्यङ्ग्यकारका रूपमा समेत लेख लेख्दै आएका थिए ।

स्व मानन्धरको ‘थौं घन्टाघरं जिके ई न्यनाच्वन’(आधुनिक कविता सङ्ग्रह), ‘पद्मरत्न तुलाधर’ (नेपाल भाषाका अग्रजका साथसाथै मानव अधिकारवादी पद्मरत्न तुलाधरको जीवनी) प्रकाशित भएको छ । साथसाथै उनको सोधपत्र ‘२०४६ साल जनआन्दोलनय् विश्वभूमि न्हिपौया भूमिका’ समेत प्रकाशित छ । उनले डा अजयक्रान्ति शाक्य र सन्ध्या बज्राचार्यसँग मिलेर ‘इन्द्रजात्रा’÷‘येँयाः’ पुस्तकसमेत लेखेका छन् ।

स्व मानन्धरको भोलि (बुधबार) बिहान काठमाडौँ इन्द्रयणी घाटमा अत्यष्टि गरिने जानकारी परिवारले दिएको छ । विसं २०२३ कात्तिकमा जन्मिएका मानन्धरका श्रीमती र दुई छोरा छन् ।