पर्यटकीय गन्तव्य बन्दै लमजुङको ‘घनपोखरा होमस्टे’


लमजुङ ।लमजुङको मस्र्याङदी गाउँपालिका–१ स्थित नायुँ र घनपोखरा होमस्टे पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ ।

विसं २०७२ को भूकम्पबाट क्षति पुगेको घनपोखराको गुरुङबस्ती पुनर्निर्माण गरेर विसं २०७६ साल (घरबास) होमस्टे सञ्चालन भएसँगै नायुँ र घनपोखरा घुम्न आउने पर्यटकको घुइँचो लाग्न थालेको हो ।

सार्क राष्ट्रकै नमूना गाउँका रुपमा परिचित घलेगाउँबाट जम्मा दुई किलोमिटर दूरीमा रहेको नायुँ र त्यसभन्दा केही माथि रहेको घनपोखरा पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकको घुमघाम गर्ने रोजाइको गन्तव्य बनेको हो ।

यहाँबाट मनास्लु, ङादीचुली, अन्नपूर्ण, अन्नपूर्ण (चौथो)लगायतका एक दर्जन बढी हिमशृङ्खला अवलोकन गर्न सकिन्छ । लमजुङ मध्यनेपाल नगरपालिका–१ जिताबाट घनपोखरा घुम्न आउनुभएका सुमन घिमिरे घनपोखराको आतिथ्यता र त्यहाँबाट देखिने दृश्यावलोकनले आफूलाई ज्याँदै आनन्दित तुल्याएको बताउँछन् । यहाँको हावापानी र सुन्दर, मनोरम दृश्यले पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक बढ्न थालेका छन् ।
नायुँ र घनपोखरा घुम्न आउने पर्यटकलाई घरबास सञ्चालकले गाउँघरमै उब्जाइएका धान, मकै, कोदो, भटमास, साग, सिस्नो, कुरिलो, टुसा, स्थानीय कुखुरा, खसीबोका, भेडाको मासुबाट तयार हुने स्वादिष्ट परिकार पस्कने गरेका छन् ।

आफ्ना कला संस्कृति जोगाइराख्न रोधीसमेत बस्ने गरेका छन् । गाउँमा आएका पर्यटकलाई स्वागत, सम्मान र बिदाइमा सेतो टीका, फूलको माला, गुच्छा र खादाबाट सम्मान गरिँदै आएको छ ।
यहाँबाट देखिने सूर्योदय र सूर्यास्तको दृश्यसँगै देखिने हिमाल, मस्र्याङ्दी नदी किनाराका फाँट, मिदिम नदीका किनाराले पर्यटकलाई थप आनन्दित बनाउँदै आएको छ ।

समुद्री सतहदेखि दुई हजार १५० उचाइमा रहेको रमणीय घनपोखरामा गुरुङ समुदायको ६५ घर रहेका छन् । जसमध्ये ११ घरमा होमस्टे सञ्चालन गरिएको छ । यो गाउँमा प्राचीन मौलिकता जोगाउने गरी परम्परागत घुमाउने घरसँगै स्थानीयको कला, संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यका साथ गुरुङ सङ्ग्रहालयसमेत स्थापना गरिएको छ ।

नायँु र घनपोखरामा मात्र एक रातमा १०० जना पाहुना सजिलै बस्न सक्छन् । नायुँ घनपोखरा होमस्टेका सञ्चालक कालीमाया गुरुङ शुक्रबार र शनिबार आफ्नो होमस्टे आउने पर्यटकको संख्या बढी हुने बताउँछिन् । “यहाँ मासिक ४०० देखि ५०० पाहुनाहरु आउनुहुन्छ, शुक्रबार र शनिबार भने धेरै हुने गर्छ”, उनले भनिन् ।

होमस्टेमा आएका पाहुनालाई जानेबित्तिकै ‘वेलकम ड्रिङ्क्स’, चिया, कफीले स्वागत गर्ने चलन रहेको छ । राती स्थानीयस्तरमा उत्पादित अग्र्यानिक खाना र बिहानको खाजा उपलब्ध गराउँदै आइएको सञ्चालक गुरुङ बताउँछिन् । यहाँ जानवित्तिकैको खाजा, रातिको खाना, विहानको खाजा र सुतेको प्रतिव्यक्ति जम्मा एक हजार २५० शुल्क लाग्ने गरेको छ ।

मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ नायुँ र घनपोखराको पर्यटनलाई थप विकास गर्नका लागि गाउँपालिकाले योजना बनाएर काम गरिरहेको बताउँछन् । “होमस्टेलाई थप व्यवस्थित बनाउनका लागि स्थानीय तहमा उत्पादित खानालाई प्रोत्साहन गरेका छौँ”, उनले भने ।

त्यसैगरी घनपोखरा र नायुँको होमस्टेलाई थप व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि होमस्टे सञ्चालकलाई कुकिङ तालिम, होमस्टे सञ्चालन तालिम, विभिन्न बैठक तथा गोष्ठी सञ्चालन गरिरहेको अध्यक्ष गुरुङ बताउँछन् ।

घनपोखरा र नायुँमा चैत–वैशाखमा फुल्ने विभिन्न थरीका लालीगुराँस, फुल्ने काफल र ऐँसेलुले पर्यटकलाई थप लोभ्याउने गरेको छ । ग्रामीण जीवनशैलीलाई घनपोखराले जीवन्त राखेको छ । घनपोखरा लमजुङको सदरमुकाम बेँसीसहरबाट २७ किलोमिटर पार गरेपछि पुगिन्छ । यहाँ जानका लागि ठूलो बसमा ३५० रुपैयाँ र जिपमा ४५० रुपैयाँ भाडा लाग्ने गरेको छ । पछिल्लो समय लमजुङ सदरमुकाम बेँसीसहर, काठमाडौँ र पोखराबाट घनपोखरा र नायुँ जाने पाहुनाहरु बढेका छन् ।