शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा फागुन २३ गतेदेखि बाघ गणना


दोधारा चाँदनी (कञ्चनपुर) । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा फागुन २३ गतेदेखि बाघ गणनाको तयारी गरिएको छ ।

निर्वाचनलगत्तै शुक्लाफाँटा निकुञ्ज र आरपास क्षेत्रमा बाघ गणना गरिने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए ।

“प्रतिनिधिसभा सदस्य निर्वाचनमा निकुञ्ज कर्मचारीसमेत खटिने भएकाले बाघ गणना चुनावपछि गर्ने निर्णय गरिएको छ”, उनले भने, “२३ गतेदेखि बाघ गणनाका लागि शुक्लाफाँटासँगै लालझाडी–मोहना संरक्षित क्षेत्र र डडेलधुराको जोगबुडामा स्वचालित क्यामेरा जडान गरिने छन् ।”

राष्ट्रिय बाघ गणनाअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबुडा कम्प्लेक्स नामकरण गरिएको क्षेत्रलाई दुई गुणा दुई किलोमिटरका २६० ग्रिडमा विभाजन गरिएको निकुञ्ज कार्यालयले जनाएको छ । बाघ विचरण गर्ने सम्भावित क्षेत्रको पहिचान गरेर हरेक ग्रिडमा एक जोडी स्वचालित क्यामेरा जडान गरिनेछ ।

सन् २०२२ को गणनामा यस कम्प्लेक्समा ३६ वयस्क बाघ रहेको तथ्यांक सार्वजनिक गरिएको थियो । क्यामेरामा कैद भएका १६ पोथी र १२ भालेसहित २८ र विश्लेषणका आधारमा आठ गरी ३६ वयस्क बाघ रहेको सार्वजनिक गरिएको थियो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सानो क्षेत्रफल रहेको भए पनि बाघको आहारा प्रजातिको घनत्व पर्याप्त रहेकाले यहाँ बाघको सङ्ख्या बढेको संरक्षण अधिकृतहरू बताउँछन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आहारा प्रजातिको घनत्व १४६ प्रति वर्गकिलोमिटर रहेको छ । वन्यजन्तु र दुर्लभ वनस्पतिको लागि प्रसिद्ध शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ ।