भाेजपुरमा सेना बोकेको बस दुर्घटना हुँदा २४ जना घाइते


भोजपुर । भोजपुरको भोजपुर नगरपालिका–३ स्थित सेतीबगर नजिकै चुनावमा खटिएका सेना लिएर जाँदै गरेको बस दुर्घटना भएको छ । ना ४ ख ७३१७ नम्बरको बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् ।

जिल्लाबाट २४ जना सेना र चालकसहित २६ जना सवार बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए ।

उनका अनुसार बस सडक नजिकैको घुम्तीबाट तल खसेको छ । दुर्घटनामा परी गम्भीर घाइते ८ जनालाई सेनाको दुई वटा हेलिकोप्टरमार्फत थप उपचारका लागि काठमाडौं पठाइएको नेपाली सेनाले जनाएको छ ।

जिल्लाको पश्चिम टेम्केमैयुङ गाउँपालिकामा निर्वाचन सुरक्षा तयारीका लागि नेपाली सेनाको नयाँ श्रीनाथ गण भोजपुरबाट गएको सेनाको बस दुर्घटनामा परेको हो । दुर्घटनामा परी घाइते भएका अन्यको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको छ ।