काठमाडौं। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)सँगको समन्वयमा नेपाल फिर्ता ल्याएको छ ।
चालु आर्थिक वर्षमा ११ जनाविरूद्ध ‘रेड नोटिस’ र तीन जनाविरूद्ध ‘डिफ्युजन’ जारी भएकामा रेड नोटिस जारी भएका आठ र डिफ्युजन जारी भएका दुई जनालाई इन्टरपोलको समन्वयमा विभिन्न देशबाट पक्राउ गरी स्वदेश ल्याइएको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबि नारायण काफ्लेले बताए ।
अघिल्लो आर्थिक वर्षमा ३४ जनाविरूद्ध रेड नोटिस र दुई जनाविरूद्ध डिफ्युजन जारी भएकोमा १७ जना रेड नोटिस जारी भएका र तीन जना डिफ्युजन जारी भएका प्रतिवादीलाई पक्राउ गरी नेपाल फिर्ता ल्याइएको थियो ।
इन्टरपोलसँगको समन्वयमा फरार प्रतिवादीहरूलाई पक्राउ गर्न एवम् अन्तरराष्ट्रियस्तरमा फरार प्रतिवादीहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन नेपाल प्रहरी सदैव क्रियाशील रहेको बताउँदै उनले अपराध गरेर संसारको जुनसुकै कुनामा लुके पनि उनीहरूलाई कानूनी दायरामा ल्याउन नेपाल प्रहरी प्रतिबद्ध छ भने ।
मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न, निर्वाध ढङ्गले आसन्न निर्वाचन सम्पन्न गर्न तथा अपराध अनुसन्धान एवम् नियन्त्रणमा नेपाल प्रहरी अझ सक्रिय भई विभिन्न सुरक्षा रणनीति अवलम्बन गरी कार्यक्षेत्रमा जुटेको प्रवक्ता काफ्लेले बताए ।
फरार प्रतिवादीहरूको अन्तरराष्ट्रियस्तरमा खोजतलासको लागि नेपाल प्रहरीअन्तर्गतको नेशनल सेन्ट्रल ब्युरो (एनसिबी) को अनुरोधमा इन्टरपोल महासचिवालयले नोटिस जारी गर्दै आएको छ ।

प्रतिक्रिया