खस क्षत्री एकता समाज नेपालको केन्द्रीय कार्यालय बाफलमा स्थापना


काठमाडौँ । खस क्षत्री एकता समाज नेपालको केन्द्रीय कार्यालय काठमाडौंको बाफलमा औपचारिक रूपमा स्थापना गरिएको छ । ’सबैका लागि सबै (All for all)’ भन्ने मूल नाराका साथ समाजले आफ्नै व्यवस्थापनमा कार्यालय सञ्चालन गर्ने अभियानअन्तर्गत बुधबार विधिवत् पूजा–अर्चना गरी कार्यालयको सुरुवात गरेको हो ।

कार्यक्रममा समाजका अध्यक्ष जितबहादुर घिमिरेले कार्यालय स्थापना कार्यमा सहयोग पुर्याउने सबै सहयोगी मनहरूलाई आभार व्यक्त गर्दै संस्थाको गतिविधिलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले सहयोगी सदस्यहरुप्रति समाज अनुग्रहित रहेको उल्लेख गर्दै आगामी दिनमा संस्थाको उद्देश्य पूरा गर्न सबैको साथ आवश्यक रहने बताए ।

अध्यक्ष घिमिरेले मुलुकको रक्षा र दीर्घकालीन हितका लागि खस क्षत्री समुदायबीच एकता अपरिहार्य रहेको धारणा राख्दै नयाँ सदस्यहरूलाई समाजमा जोडिन आग्रह गर्दै संगठनलाई देशव्यापी रूपमा विस्तार गर्ने योजना रहेको बताए ।

समाजका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा सामूहिक सहकार्य र एकताको भावनासहित केन्द्रीय कार्यालय सञ्चालनमा ल्याइएको जनाइएको छ ।