बैतडीमा ‘इभी हाइस’ दुर्घटनामा चालकको मृत्यु


बैतडी । बैतडीमा सवारी साधन ‘इभी हाइस’ दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका–३ खोचलेकबाट कालागाउँतर्फ गइरहेको सुपप्र०२–००१ज ०६२४ नम्बरको सो सवारी साधन सिल्लेगडा–बडिया सडकखण्डको घोडेधारनजिक गएराति दुर्घटनामा परेको हो ।

चालक दोगडाकेदार–५ का गम्भीर घाइते भएका मदन ठगुन्नाको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलदेव बडूले जानकारी दिए ।

सो सवारीसाधनमा चालकमात्र सवार रहेका थिए । दुर्घटनाग्रस्त सो गाडी सडकबाट २५० मिटर तल खसेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।