विशेष अदालतमा प्रतिकूल बकपत्र गरेको आरोपमा दुई जनाविरुद्ध मुद्दा दायर


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा बयान फेर्ने दुई साक्षीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले भक्तपुरका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टीकाराम राउतसहितको घुस प्रकरणमा सरकारी साक्षीका रूपमा पेस गरिएका दुई जनाले बयान फेरेपछि उनीहरूविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

सेवाग्राहीसँग २४ लाख ५० हजार रूपैयाँ घुससहित पक्राउ परेका आचार्यसहितलाई मुद्दा दायर गरिएको थियो । भक्तपुर, चाँगुनारायण नगरपालिका–४ का तेजबहादुर तामाङ र सानु कान्छा तामाङलाई सरकारी साक्षीका रूपमा पेस गरिएको थियो ।

तर उनीहरुले विशेष अदालतमा बकपत्रमा आयोगमा दिएको भन्दा उल्टो बयान दिँदै घुस/रिसवतको घटनालाई इन्कार गरेको अख्तियारले जनाएको छ । अदालतमा झुटो बकपत्र गरेर भ्रष्टाचार निवारणमा बाधा पुर्याएको अभियोगमा तामाङद्वयलाई प्रतिवादी कायम गरी साढे २४ लाख बिगोसहित जरिवाना र कैद सजायको माग गरिएको छ ।