महिला ‘भलमन्सा’ राजकुमारीको सङ्घर्षपूर्ण कथा


घोडाघोडी (कैलाली)। कैलालीको घोडाघोडी नगरपालिका–१० आमखोइया शिविरकी ५१ वर्षीया राजकुमारी चौधरी लगातार ‘भलमन्सा’ चुनिएको पाँच वर्ष पूरा भएको छ। थारु समुदायले हरेक वर्षको माघीका दिन गाउँको नेतृत्व गर्न भलमन्सा चुन्ने गर्छन् । पुरुषप्रधान समाजमा महिलाले नेतृत्व लिनु सजिलो छैन। थारु गाउँमा धेरै जसो भलमन्सा पुरुष हुने गर्छन् । महिला भलमन्सा भएकै कारण राजकुमारीले धेरै अपमान सहनुपर्यो । गाउँलेले भलमन्सा चुनेपछि राजकुमारीका लागि काम गर्न पक्कै सहज थिएन ।

अपमानमा मात्र सीमित रहेन, ज्यानै मार्नेसम्मको धम्की आयो । कलह र झगडा पनि भयो । तर ती सबै कुरालाई बेवास्ता गर्दै उनी रोकिनन् । गाउँका झगडा मिलाउन, समस्या समाधान गर्न दिनरात खटिन । परिवारको साथ र सहयोगले उहाँलाई जिम्मेवारी सम्हाल्न सहज भयो ।

औपचारिक शिक्षाबाट समेत वञ्चित राजकुमारी भन्छिन्, “एक कक्षा पनि पढ्न पाइनँ, छोरीलाई पढाउन हुँदैन भन्ने सोचका कारण माइतमा पनि मलाई विद्यालय पठाइएन ।” एक जना शिक्षकले ‘स्कुल पठाइदिनुहोस्, निःशुल्क पढाउँछु’ भनेर आग्रह गर्दा पनि बाजेले पढ्न नपठाएको बाल्यकालको घटना उनले अझै बिर्सेक छैनन् ।

तर भलमन्सा भइसकेपछि उनको अनुभव र योगदान गाउँका लागि अमूल्य बनेको छ । भलमन्साको जिम्मेवारीसँगै राजकुमारीले खेतीपाती, बङ्गुुरपालनजस्ता काम पनि गर्दै आएकी छन् । समाजमा किन सधैँ महिलामाथि मात्र प्रश्न उठ्छ भन्ने सोचले उनलाई निरन्तर अघि बढायो । आज उहाँ आमखोइया शिविरकी भलमन्सा मात्र होइन, महिलाले पनि गाउँको नेतृत्व गर्न सक्छन् भन्ने उदाहरण कनेकी छन् ।

भलमन्साको हैसियतले राजकुमारीले गाउँका साना–ठूला विवाद समाधान गर्ने, पारिवारिक झगडा मिलाउने, सामाजिक कलह नियन्त्रण गर्ने जिम्मेवारी निभाउँदै आएकी छन् । भल्मन्सा बनेकै वर्ष उहाँले गाउँमा बिजुली विस्तारको माग गरिन् । जसका कारण गाउँमा विद्युत् सेवा पुगेको छ । सडकमा कल्भर्ट निर्माण, शौचालय निर्माणलगायतका पूर्वाधारसम्बन्धी कामहरू पनि उनको पहलमा सम्पन्न भएका छन् ।

योसँगै वडा कार्यालय, नगरपालिका, प्रहरी तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरेर गाउँका समस्या समाधानका लागि पहल गर्दै आएकी छन् । गाउँलेका गुनासा, माग र पीडा सम्बन्धित निकायसम्म पुर्‍याउने उनको नियमित काम हो । उनले जात, लिङ्ग र वर्गका आधारमा हुने विभेद घटाउँदै सामाजिक एकता र सद्भाव कायम गर्न पनि भूमिका निर्वाह गर्दै आएकी छन् ।