राजसंस्था पुनःस्थापनाको आन्दोलनमा आउन भन्दै ५० लाख जनालाई म्यासेज गर्ने सेढाईँ पक्राउ


काठमाडौँ । प्रहरीले राजसंस्था पुनःस्थापनाको माग गर्दै मोबाइल नम्बरमा ५० लाख जनालाई म्यासेज गर्ने निर्देश सेढाईँलाई पक्राउ गरेको छ ।

चितवनका सेढाईंलाई मंगलबार राति काठमाडौंको हात्तीसारबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले जानकारी दिएका छन् ।

सेढाईंले नेपाल टेलिकमको गेटवे प्रयोग गरेर ‘एटी अलर्ट’मार्फत् ५० लाख एसएमएस पठाएका थिए । उनले म्यासेज पठाएर जनतालाई आतङ्कित पारेको आरोप छ । सेढाईंले म्यासेजमा ‘नेपालका सबै समस्याहरूको सधैंका लागि मुक्तिको निम्ति प्रदेश संरचना हटाई प्रत्यक्ष निर्वाचित संरचना सहितको सनातन संवैधानिक राजसंस्था स्थापनाको लागि निमन्त्रणा गर्न चाहन्छु’ उल्लेख छ ।

उनलाई सार्वजनिक हित विरुद्धको कसुरमा अनुसन्धान गरिने एसपी आचार्यले जानकारी दिए ।