सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै


नारायण न्यौपाने, काठमाडौँ । बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र संस्कृतिबाट अनुशासित, कर्मठ र देशभक्त युवा जनशक्ति उत्पादनमा सेनाको व्यवस्थापनामा भइरहेको राष्ट्रिय सेवा दल (एनसिसी)बाट दिइने तालिम बढाउन र विस्तार गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।
देश निर्माणमा जुट्नुपर्ने होनहार युवाशक्ति आन्दोलन र सङ्घर्षका नाममा राष्ट्रका महत्त्वपूर्ण सम्पदा र धरोहर तोडफोड र जलाउने कार्य समेतमा अग्रसर भएपछि उनीहरूमा मुलुकप्रतिको कर्तव्य र राष्ट्रप्रेमको भावना जागृत तुल्याउन एनसिसी प्रशिक्षण जरुरी देखिएको हो ।

राष्ट्रिय सेवा दलका महानिर्देशक यामप्रसाद ढकाल नवयुवापुस्तालाई अनुशासित, बफादार र नेतृत्व लिन सक्ने देशभक्त र राष्ट्रप्रति समर्पित दक्ष जनशक्ति तयार गर्न सेवा दल अहोरात्र लागि परेको बताउँछन् ।
देश निर्माणका संवाहक युवापुस्तालाई मुलुकप्रति उत्तरदायी बनाउँदै अनुशासित र जिम्मेवार तुल्याउन प्रमुख सुरक्षा सङ्गठन नेपाली सेनाले भने ६ दशकदेखि बेग्लै संरचना खडा गरी ‘राष्ट्रिय सेवा दल’ मार्फत युवालाई तालिम प्रदान गर्दै आएको छ ।

राष्ट्रनिर्माण र विकासमा अनुशासित जनशक्ति उत्पादनका लागि नेपाल सरकारले विसं २०२२ मा राष्ट्रिय सेवा दल स्थापना गरी युवा विद्यार्थीलाई तालिम प्रदान गर्दै आएको छ । सेवा दलको आदर्श वाक्य ‘अनुशासन नै राष्ट्र सेवाको मूल जग हो’ भन्ने छ ।

सुरुका वर्षमा काठमाडौँलाई आधार मानेर वार्षिक रूपमा ५०० जनालाई प्रदान गर्न थालिएको तालिम देशभर विस्तारसँगै सहभागीको सङ्ख्या बढाएर प्रतिवर्ष सात हजार ७१० जना पुर्याइएको छ ।
नेपालभरबाट माग भइआएका विद्यालयमा सेवा दलले तालिम प्रदान गर्दै आएको छ । महानिर्देशक ढकालका अनुसार प्रत्येक वर्ष यस तालिमको माग बढ्दो छ । एक हजारभन्दा बढी स्कुलले तालिम माग गरे पनि सेवा दलले २५७ वटा विद्यालयमा मात्र पुुर्याउन सकेको छ । अनुशासित र तालिम प्राप्त जनशक्ति उत्पादन गर्न सरकारले यस तालिमलाई थप प्राथमिकताको सूचीमा राखेर सङ्ख्या बढाउन अपरिहार्य रहेको छ । सेवा दलले तालिमका लागि हरेक वर्ष भरसक फरक विद्यालयको छनोट गर्दै आएको छ ।

छनोटमा परेका प्रत्येक विद्यालयमा पुगेर सेवा दलले १५ जना छात्र र १५ छात्रालाई तालिम प्रदान गर्दै आएको छ । त्यस्तो तालिम देखेर मात्रै पनि सम्पूर्ण विद्यार्थीको मानसिकता परिवर्तन भएको सेवा दलको भनाइ छ ।
छिमेकी मुलुक भूटानले पनि नेपालकै जस्तो सेवा दलको तालिम दिएर स्काउट, स्वयम्सेवक दस्ता र जगेडा बलजस्ता जनशक्ति उत्पादन गरेको र अनुशासित जनशक्ति नभई राष्ट्र अघि बढ्न सक्दैन ।

तालिमपूर्व कुलतमा लागेका युवा पनि एनसिसीको प्रशिक्षणपछि असल मार्गमा फर्किएका छन् । विद्यालयस्तरका विद्यार्थीलाई राष्ट्र र राष्ट्रियताको भावना जगाउने असरदार कार्यक्रमका रूपमा पछिल्लो समय सेवा दलको प्रशिक्षण विस्तार भएको छ । सरकारले यसलाई प्राथमिकतामा राखेर वार्षिक रूपमा सङ्ख्या बढाउन आवश्यक रहेको र सेवा दलले सो सङ्ख्या बढाएर वार्षिक रूपमा ११ हजार ५०० पु¥याउनपर्ने आवश्यकता औँल्याएको छ ।

भारतमा यस किसिमको तालिम वार्षिक रूपमा २० लाखलाई दिने गरिएको छ । त्यहाँ सरकारी विद्यालयमा अध्ययनरत पिछडिएको क्षेत्र, विपन्न वर्ग, सीमान्तकृत समुदायका छात्रछात्रालाई प्राथमिकता दिइएको छ ।
एनसिसीको विद्यालयमा हुने तालिममा खुराकका रूपमा उपयुक्त आहारको समेत व्यवस्था गरेको छ । ७९ दिनको संस्थागतपछि २१ दिने सामूहिक तालिम दिइन्छ । मोरङको याङसिला, महोत्तरीको बर्दिबास, नवलपरासीको हात्तीखोर र बाँकेको कोहलपुरमा रहेका शिविरमा २१ दिने सामूहिक तालिम प्रदान गरिन्छ ।
उक्त तालिममा सहभागी प्रतिविद्यार्थीका लागि यातायात, पोसाक, खानासमेत गरी ३५ हजार खर्च लाग्ने सङ्गठनले जनाएको छ ।

तालिमका क्रममा उनीहरूलाई अनुशासन, राष्ट्रियता, इतिहास, भूगोल, परम्परा, संस्कृति, सम्पदासम्बन्धी ज्ञान दिलाउनाका साथै नेतृत्व विकास र सैनिक कलामा प्रशिक्षित तुल्याइँदै आइएको छ ।
स्थापनादेखि हालसम्म ८८ हजारभन्दा बढी युवाले सेवा दलको तालिम प्राप्त गरिसकेको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए ।

त्यस्ता तालिम प्राप्त जनशक्ति स्वतःस्फूर्त रूपमा निःशुल्क स्वास्थ्य शिविर, बाढी, पहिरो, डुबान र भूकम्पजस्ता प्राकृतिक प्रकोप र विपद्पछिको खोज, उद्धार र राहत कार्यमा स्वतः परिचालित हुँदै आएको पाइन्छ ।

देशका पूर्वप्रधानमन्त्रीदेखि उच्च ओहदाका सरकारी अधिकारी, सुरक्षा फौजका उच्चअधिकृत, राजदूत, डाक्टर र इन्जिनियरले समेत उक्त तालिम प्राप्त गरेका छन् ।

तालिममा सहभागीमध्येबाट प्रतिनिधिमूलक रूपमा सार्क राष्ट्रमा युवा अनुभव आदान–प्रदान कार्यक्रममार्फत तत्तत् देशको भूगोल, विकास सम्भावना, कला, साहित्य, प्रकृति र संस्कृतिबारे जानकारी गराइँदै आएको छ ।

तालिम लिएका व्यक्ति सम्मिलित अल्मुनाईमा जिल्ला, प्रदेश र केन्द्रमा क्रमशः कमिटी, सल्लाहकार समिति र संरक्षक समिति छ । त्यस्तो जनशक्तिलाई सुरक्षा फौजमा भर्ना छनोटमा समेत प्राथमिकतामा राखिनुपर्ने आवाजसमेत उठेको छ ।

विक्रम संवत् २००८ मा राष्ट्रिय सेवा दलको तालिम लिएका डा बद्रीराज पाण्डेका अनुसार त्यसबेला नेपाली कांग्रेससमेत सम्मिलित अन्तरिम सरकार थियो । उनीहरू त्रिचन्द्र कलेजमा आइएस्सीमा पढ्थे । “तालिममा छनोट भएपछि गोदावरीमा लगेर आर्मीद्वारा तालिम गराइयो । तोकिएको पोसाक उपलब्ध भयो, कवाज खेलाइयो, विपद्का समयमा अनुशासन र नैतिकताको कसीमा रही परिचालित हुन सिकाइयो,” उनले स्मरण गरे ।

उनी भन्छन्, “आपत्कालीन अवस्थामा राष्ट्र र समाजलाई सहयोग पुर्याउन प्रेरित गर्ने सेवा दलका तालिमलाई अझै विस्तार गर्दै लैजानुपर्छ । नव युवापुस्तालाई राष्ट्रप्रेम र नैतिकवान् बनाउन आवश्यक छ, ‘चेनअफ कमान्ड’ र अनुशासनबिना राज्य अघि बढ्न सक्दैन ।”

अझ जेनजी आन्दोलनका क्रममा सिंहदरबार, सर्वाेच्च अदालत र सङ्घीय संसद् सहितका महत्वपूर्ण भवन र सम्पदामा भएको तोडफोड र आगजनीका घटनाले युवापुस्तालाई अनुशासित र देशप्रति समर्पित भावना जगाउन तालिम प्रशिक्षण विस्तारको आवश्यकता औँल्याइएको छ ।

युवालाई गलत बाटो रोज्न नदिने, अनुशासित र राज्यप्रति उत्तरदायी बनाउने दायित्व राज्यको भएकाले राष्ट्रिय सेवा दलको अवधारणा अघि बढाएर सञ्चालनको जिम्मेवारी भने सेनालाई दिइएको इतिहास छ ।
सेवा दलले विद्यालय तथा उच्च विद्यालयमा अध्यनरत छात्रछात्रालाई शिक्षाका साथै सैनिक तालिमको माध्यमबाट अनुशासन, स्वास्थ्य समाजसेवा, उद्धार कार्य, सामूहिक जिम्मेवारी तथा राष्ट्रियताको भावनाको विकास र अन्तरराष्ट्रिय भाइचारा अभिवृद्धि गराउने उद्देश्यले काम गरिरहेको छ ।

सेवा दलले २५७ विद्यालयमध्ये ३६ विद्यालयमा सिनियर डिभिजन र बाँकी विद्यालयका छात्रछात्रालाई जुनियर डिभिजनमा विभाजन गरी मङ्सिरदेखि माघसम्म वार्षिक रूपमा तालिम प्रदान गर्दै आएको छ ।
यस वर्षको जुनियर डिभिजनको तालिमको समापन यही पुस २९ गते हुँदैछ । सिनियर डिभिजनको दीक्षान्त कबाज आगामी माघ २० का लागि निर्धारण गरिएको छ । तालिमबाट महिला सशक्तिकरणका क्षेत्रमा समेत महत्वपूर्ण योगदान पुग्दै आएको छ ।

तालिम दीक्षान्त कार्यक्रममा प्रधानमन्त्री, रक्षामन्त्री र प्रधानसेनापति प्रमुख अतिथिका रूपमा उपस्थित भई सम्बोधन गर्ने परम्पराले विद्यार्थीलाई उत्प्रेरित गर्ने सङ्गठनको विश्वास छ ।

महानिर्देशक ढकालका अनुसार नेपाली युवामा एनसिसी तालिमले सकारात्मक प्रभाव पार्दै आएको छ । राज्यलाई सङ्कट परेका अवस्थामा सशक्त फौज निर्माणमा यो तालिम महत्वपूर्ण साबित हुनेछ । देशलाई आवश्यक सशक्त, जुझारु, अनुशासित एवम् देशभक्त युवा जनशक्ति यसैबाट उत्पादन हुन्छ । तालिमको प्रभावकारिता र उपयोगिता आगामी दिनमा थप बढाउन सकिनेछ ।