झापाका चौहान दाजुभाइको डिजिटल उडान


-दीपक चन्द, भद्रपुर (झापा) । गाउँका धेरै युवाजस्तै विदेश जाने सपना देखेर होइन, आफ्नै माटोमा बसेर प्रविधिसँग मित्रता गाँस्दै सफलता खोज्ने आँट गरे झापाका दुई दाजुभाइले । शिवसताक्षी नगरपालिका–२, सङ्गमचोकका प्रदीप चौहान र पवन चौहान आज “विदेश कहिले जाने ?” भन्ने प्रश्नको उत्तर आफ्नै युट्युब च्यानलमार्फत दिइरहेका छन् । मध्यम वर्गीय परिवारमा जन्मिएका यी दाजुभाइको पहिचान अहिले ‘विदेश नजाने तर विश्वभर चिनिने नेपाली क्रियटर’का रूपमा स्थापित भएको छ ।

सानो कोठामा, साधारण मोबाइलबाट सुरु भएको उनीहरूको यात्राले आज ‘सानो क्रियटर’ नामक युट्युब च्यानललाई विश्वकै चर्चित मिनिएचर कन्टेन्ट प्लेटफर्ममध्ये एक बनाएको छ । करिब दुई वर्षको अवधिमै झण्डै ४५ लाख सब्सक्राइबर, करोडौँ भ्युज र मासिक लाखौँ आम्दानी–यो सफलता आकस्मिक होइन, निरन्तर प्रयास, असफलताबाट सिकाइ र फरक सोचको परिणाम हो ।

मध्यम परिवारदेखि डिजिटल संसारसम्म

प्रदीप चौहान २९ वर्षको भए । उनले कक्षा १२ सम्म अध्ययन गरेका छन् । पढाइमा औसत भए पनि सानैदेखि केही नयाँ बनाउने, बिगार्ने र फेरि जोड्ने उनको बानी थियो । घरमा कुनै इलेक्ट्रोनिक सामान आइपुग्यो भने त्यसका पाटपुर्जा खोलेर हेर्ने, कसरी चल्छ भनेर बुझ्ने उनको स्वभाव नै थियो ।

कक्षा १२ सकेपछि परिवारसँग दुई बिघा जमिन भएकाले प्रदीपले कृषिलाई नै भविष्य ठानेर यसमै समपर्ण गर्ने सोच बनाए । लेयर्स कुखुरापालनदेखि बङ्गुर व्यवसायसम्म उनले विभिन्न प्रयोग गरे । सुरुआतमा आशा पलाए पनि गाउँमै धेरै मानिस एउटै व्यवसायमा लागेपछि उत्पादन बढ्यो, बजार खुम्चियो र लगानी डुब्न थाल्यो । करिब २५ लाख रुपैयाँको कृषि ऋण, घर–परिवारको जिम्मेवारी र असफलताले उनीहरुलाई मानसिक रूपमा निकै कमजोर बनायो । “निराशा चरम सीमामा पुगेको थियो, तर हामीले हार मानेनौँ”, प्रदीप विगत सम्झिन्छन् ।

असफल प्रयास र नयाँ सोचको जन्म

आजभन्दा झण्डै छ वर्ष पहिले कोभिड–१९ को समय । घरमै थुनिएको अवस्था, बाहिर कामको अवसर शून्यजस्तै । त्यही समयमा प्रदीपले युट्युबलाई एउटा सम्भावनाका रूपमा हेरे । एउटा च्यानल खोलेर नयाँ ठाउँ, नयाँ परिवेशका भिडियो हाल्न थाले । तर खासै दर्शक आकर्षित हुन सकेनन् । त्यतिखेर उनीहरूसँग न त महँगो क्यामेरा थियो, न त स्टुडियो । आइफोन ७ प्लस नै सबैथोक थियो । “भिडियो हाल्यौँ तर प्रतिक्रिया आएन । धेरैपटक मन खिन्न भइयो,” प्रदीप भन्छन् ।

तर यही असफलताले उनलाई सिकायो–युट्युबमा सफल हुन जे मन लाग्यो त्यही हाल्ने होइन, ‘दर्शकले के खोजिरहेका छन्’ बुझ्नुपर्छ । त्यसपछि उनले युट्युब एल्गोरिदम, ट्रेन्डिङ भिडियो, विभिन्न सामाजिक सञ्जालका कन्टेन्टहरू गहिरो अध्ययन गर्न थाले । कुन भिडियो धेरै हेरिन्छ ? किन हेरिन्छ ? दर्शकको ध्यान कहाँ टिक्छ ? यही अनुसन्धानले एउटा नयाँ विचार जन्मायो–सानो, सरल तर सबैलाई चासो लाग्ने कन्टेन्ट निर्माण गर्नुपर्छ ।

‘सानो क्रियटर’ : सानो सोच, ठूलो प्रभाव

सन् २०२३ को सुरुआत । प्रदीप र पवनले ‘सानो क्रियटर’ नामक युट्युब च्यानल खोले । यो च्यानलको अवधारणा थियो–दैनिक जीवनका ठूला कामहरू सानो आकारमा देखाउने । प्रदीपलाई साना गाडी र संरचना बनाउने रुचि थियो । पवनलाई भिडियो खिच्ने र एडिट गर्ने । दाजुभाइको यही फरक–फरक सीप एउटै उद्देश्यमा जोडियो ।

चप्पलका चक्का काटेर बनाइएका साना ट्रक, ट्याक्टर, घर निर्माणका सामग्री, साना गाडीले माटो बोकेको दृश्य–यी सबै साधारण सामग्रीबाट बनाइएका थिए । तर त्यसमा कल्पना, मेहनत र धैर्य मिसिएको थियो । भाग्यवश, च्यानलको पहिलो भिडियोदेखि नै दर्शकको ध्यान तान्न सफल भयो । भिडियोहरू भाइरल हुन थाले । एकपछि अर्को भिडियो लाखौँ पटक हेरिन थाल्यो ।

‘सानो क्रियटर’ मा देखिने साना ट्रक, खेत खन्ने मेसिन, घर बनाउने सामग्री–यी सबै दाजुभाइले आफैँ बनाउने गर्छन् । बाहिरको ठूलो क्षेत्र होइन, आफ्नै स्टुडियोभित्र सानो संसार तयार हुन्छ । गाडीले सामान बोकेको, फिल्ड खनेको, घर निर्माण गरेको दृश्य यथार्थजस्तै देखिन्छ । यही यथार्थपरक ‘मिनिएचर’ संसारले दर्शकलाई बाँधेको छ । प्रदीपको यो कामलाई भाई पवनले पनि पूरै साथ दिएका छन् । “दुबै जना नभए भिडियो बनाउन असम्भव हुन्छ,” प्रदीप भन्छन् । एक जनाले संरचना बनाउँछ, अर्कोले त्यसलाई जीवन दिन्छ–क्यामेराबाट ।

विश्वभर फैलिएका दर्शक

आज ‘सानो क्रियटर’का दर्शक नेपालमा मात्र सीमित छैनन् । करिब ६० प्रतिशत दर्शक भारतका छन् । नेपाली दर्शक भने करिब दुई प्रतिशत मात्रै । भारत, नेपालबाहेक पाकिस्तान, बङ्गलादेश, थाइल्याण्ड, श्रीलङ्कालगायतका देशमा पनि उनीहरुको भिडियो अत्यन्त रुचाइन्छ । भाषाभन्दा पनि दृश्यमा आधारित कन्टेन्ट भएकाले विश्वभरका दर्शकले सजिलै बुझ्छन् ।

यही अन्तरराष्ट्रिय दर्शक नै उनीहरुको आम्दानीको मुख्य आधार बनेको छ । प्रदीपका अनुसारजस्तो पायो त्यस्तै भिडियो निरन्तर हाल्नुभन्दा केही समयको अन्तर राखेर भिडियो अपलोड गर्नु राम्रो हुन्छ । भिडियो बनाउन धेरै मेहनत लाग्छ, त्यसैले उनीहरुले महिनामा करिब १० देखि १२ वटा भिडियो मात्र ‘अपलोड’ गर्छन् ।

‘भ्युज’ होइन, विज्ञापनको खेल

प्रदीपका अनुसार युट्युबको आम्दानी भ्युजसँग मात्र जोडिएको हुँदैन । भिडियो सुरु हुँदा आउने विज्ञापन नै आम्दानीको मुख्य स्रोत हो । “डिजिटल साक्षरता बढी भएको देशमा बज्ने विज्ञापनको दर नेपालभन्दा धेरै हुन्छ”, उनी भन्छन् । त्यसैले नेपालभन्दा बाहिरबाट धेरै ‘भ्युज’ आए आम्दानी पनि बढी हुन्छ । कुनै भिडियो धेरै हेरियो भने विज्ञापन पनि बढी आउँछ । यही कारणले एउटै भिडियोले छ करोड २० लाख ‘भ्युज’ पाउँदा एक महिनामा करिब २९ हजार अमेरिकी डलरसम्म आम्दानी भएको अनुभव प्रदीप साझा गर्छन् ।

प्रदीपका अनुसार, दुई वर्षअघि अपलोड गरिएको भिडियो अहिले पनि धेरै हेरिने भएकाले उक्त भिडियोबाट अहिले पनि आम्दानी भइरहेको हुन्छ । हालसम्म युट्युबमार्फत उनीहरुले मासिक करिब सात लाखदेखि अधिकतम् ४१ लाख नेपाली रुपैयाँसम्म आम्दानी गरेका छन् ।

ऋणको भारीदेखि करोडपति जीवनसम्म

दुई वर्षअघि उनीहरुसँग काठको टाँडे घर थियो । कृषि ऋणको भारले भविष्य अन्धकार देखिन्थ्यो । आज भने युट्युबकै कमाइले करोडौँ लगानीमा घर निर्माण भएको छ । चारपाङ्ग्रे विद्युतीय गाडीसमेत खरिद गरेका छन् तर उनीहरुका लागि सबैभन्दा ठूलो उपलब्धि पैसा होइन । “सबैभन्दा ठूलो कुरा आत्मविश्वास हो”, प्रदीप भन्छन् । असफलताबाट उठेर आफूले केही गर्न सक्छु भन्ने विश्वास नै उनीहरूको साँचो पुँजी बनेको छ ।

प्रदीप चौहान अरूको नक्कलभन्दा फरक बाटो रोज्न युवालाई स्पष्ट सन्देश दिन्छन् । उनका अनुसार सफलता कुनै तय ढाँचामा बन्द हुँदैन । “अरूले के गर्यो भनेर त्यही दोहो¥याउनु सजिलो हुन्छ, तर दिगो सफलता आफ्नै सोच र सीपबाट मात्रै आउँछ”, उनी भन्छन् । आफूसँग जे छ, जति छ, त्यसलाई फरक तरिकाले प्रस्तुत गर्नसके त्यो नै ठूलो अवसर बन्न सक्ने प्रदिपको अनुभव छ ।

आज प्रविधि गाउँ–गाउँसम्म पुगेको छ । महँगो उपकरण, ठूलो स्टुडियो वा ठूलो लगानी नभए पनि सिर्जनात्मक सोच र निरन्तर अभ्यासले सामाजिक सञ्जाललाई आम्दानीको बलियो माध्यम बनाउन सकिने प्रदीपको विश्वास छ । “प्रविधि आफैँमा ठूलो शक्ति हो, प्रश्न यसलाई कसरी प्रयोग गर्ने भन्ने हो”, उनी थप्छन् ।

विदेश जाने लाइनमा नलागेर आफ्नै गाउँबाट विश्व बजारमा पुगेका चौहान दाजुभाइको यात्रा केवल युट्युब सफलताको कथा मात्र होइन । यो कथा हो–असफलताबाट भाग्ने होइन, त्यसलाई पाठ बनाउने साहसको । यो कथा हो–भीडभन्दा फरक हिँड्ने हिम्मतको र निरन्तर मेहनतको । ‘सानो क्रियटर’ले प्रमाणित गरिदिएको छ–सपना ठूलो हुनैपर्छ भन्ने छैन, सोच फरक भए पुग्छ । सानो प्रयास, सही दिशा र आत्मविश्वास भए गाउँबाटै विश्व जित्न सकिन्छ ।