खस क्षेत्री एकता समाज-नेपालको प्रथम साधारण सभा सम्पन्न


काठमाडौँ । खस क्षेत्री समुदायको ऐतिहासिक पहिचान, सामाजिक न्याय र संवैधानिक अधिकारका पक्षमा एकताबद्ध आवाज उठाउने उद्देश्यसहित स्थापित खस क्षेत्री एकता समाज नेपालको प्रथम साधारण सभा शनिबार काठमाडौँमा उल्लेख्य सहभागिताका साथ सम्पन्न भएको छ। देशका विभिन्न जिल्लाबाट आएका खस क्षेत्री समुदायका अगुवा, बुद्धिजीवी, पेशाकर्मी, पूर्व प्रशासक, शिक्षाविद् तथा सामाजिक अभियन्ताहरूको उपस्थितिले सभा अर्थपूर्ण बनेको थियो ।

सभाले हालसम्म कार्यरत तदर्थ समितिलाई नै पहिलो कार्यकालका लागि कार्यसमितिमा सर्वसम्मत रूपमा चयन गरेको छ । यससँगै समाजले औपचारिक रूपमा आफ्नो संगठनात्मक संरचना स्थापित गर्दै खस क्षेत्री समुदायका हक-अधिकार, पहिचान र सम्मानका लागि सशक्त अभियान सञ्चालन गर्ने घोषणा गरेको छ ।

समाजको अध्यक्षमा जित बहादुर घिमिरे चयन भएका छन् । कार्यकारी उपाध्यक्षमा समाजसेवी कान्त बहादुर पौडेल, उपाध्यक्षहरुमा पूर्व कर्णेल प्रकाशजंग कार्की र पूर्व प्रशासक श्री चिरञ्जीवि थापा तथा महिला उपाध्यक्षमा अधिवक्ता लक्ष्मी नानी थापा चयन भएका छन् । महासचिवहरुमा संगठन विभागमा समाजसेवी राम बहादुर पाण्डे र प्रशासन विभागमा पूर्व सह-सचिव एच.बि. ध्रुब खड्का चयन भएका छन् । सचिवमा सुभास पाण्डे, कोषाध्यक्षमा अधिवक्ता केदार अधिकारी चयन भएका छन् भने सहकोषाध्यक्षमा रमिला बस्नेत चयन भएकी छन् ।

केन्द्रीय सचिवालय सदस्यहरूमा पूर्व प्रशासक सन्त बहादुर बस्नेत(कानूनी सल्लाहकार), प्रा. डा. गोपाल बहादुर के.सी. (विदेश विभाग प्रमुख), राम कृष्ण भण्डारी, इ. श्रीराम के.सी., बिष्णुकुमारी कार्की खड्का, पृथ्वी बहादुर खत्री, ज्ञानेन्द्र पौडेल, रमेशजंग कुवर, लोकन्द्र बहादुर बिष्ट, जय बहादुर विष्ट, शैलेन्द्रकुमार कटुवाल चयन भएका छन् । नव-गठित कार्यसमितिले खस क्षेत्री समुदायको पहिचान, हक-अधिकार र सम्मानका विषयलाई राष्ट्रहितसँग जोडेर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
केन्द्रीय सदस्यहरुमा किरण कुँवर(लमजुङ), लबेन्द्र बहादुर शाही ठकुरी(काठमाडौँ), रामकृष्ण भण्डारी(भक्तपुर), थानेश्वर कुवर(काठमाडौँ), ज्ञानु विसी(रुकुम पूर्व), नारायणी थापा अधिकारी(तनहूँ), पार्वती खड्का (ओखलढुङ्गा), कृष्णबहादुर थापा(ओखलढुङ्गा), गोकुल अधिकारी (धादिङ),दीपक महत (अर्घाखाँची), बिनय बुढाथोकी (दाङ), चन्द्रबहादुर थापा (स्याङ्जा), सन्तबहादुर थापा (काठमाण्डौ), रामबहादुर अधिकारी (गोरखा), नमबहादुर पौडेल (दाङ), मधुसुदन रावत (दाङ), शोभाराम डाँगी (दाङ), टेकेन्द्रजंग रावत (दाङ), अम्बरबहादुर पाण्डे (खोटाङ), बाबुराम बस्नेत (खोटाङ), देउचन ओली (दाङ), सागर पाण्डे (काठमाण्डौ), बिष्णु कार्की खड्का(स्याङ्जा) चयन भएका छन् ।

प्रथम साधारण सभामा सम्पन्न नेतृत्व चयन प्रक्रियालाई निष्पक्ष र विधिसम्मत बनाउन प्रमुख निर्वाचन अधिकृतमा अधिवक्ता कमल कोइराला तथा सहायक निर्वाचन अधिकृतमा मनिषा बास्कोटा खटिनुभएको थियो। उहाँहरूको संयोजनमा निर्वाचन प्रक्रिया संसदीय विधि र संस्थाको विधानअनुसार सञ्चालन भई कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको जनाइएको छ। संस्थाका बिधान अनुसार दिनेश थापा र पुर्वमन्त्री समेत रहेका उद्वव थापालाई विशिष्ट सदस्यता प्रदान गरिएको छ ।

छोटो समयमा नै २०० भन्दा बढी आजीवन सदस्य बनेका यस संस्थाको बिधान अनुसार २५ सदस्यीय सचिवालय सदस्य, ४५ सदस्यीय केन्द्रीय सचिवालय र २०१ सदस्यीय केन्द्रीय सदस्यबाट नै मनोनित हुने ब्यबस्था रहेको छ। हाल सम्म नेपाल भित्र ३५ जिल्लामा तथा विदेशमा ११ वटा शाखा बिस्तार गरिसकिएको समाजले जनाएको छ । विदेश संयोजकको जिम्मेवारी गुमानसिंह कार्कीलाई दिइएको छ ।

संस्थागत सुशासन र पहिचानलाई विशेष महत्व दिँदै खस क्षेत्री एकता समाज नेपालले आफ्नो संगठन सञ्चालनलाई फरक र उदाहरणीय बनाएको देखिएको छ। संस्थाले दुई वर्षे कार्यकालको अवधिमा प्रत्येक अध्यक्षले संस्थामा नयाँ आयाम थप्ने गरी कार्यभार हस्तान्तरण गर्ने व्यवस्था लागू गरेको छ। यसका लागि संस्थाले ‘हस्तान्तरणीय चाँदीको माला’ निर्माण गरी नेतृत्व परिवर्तनलाई गरिमामय र संस्थाको प्रतिष्ठा झल्किने अभ्यासको थालनी गरेको छ । त्यसैगरी संस्थाले प्रत्येक आजीवन सदस्यलाई आजीवन सदस्यता कार्ड, साथै हाफ ज्याकेट र टोपी उपलब्ध गराउने व्यवस्था गर्दै संगठनको पहिचान र एकरूपता सुदृढ बनाएको छ। संस्थाले बैठक तथा निर्णय प्रक्रियामा संसदीय विधि अनुसार ‘Roberts Rules of Order’ मा आधारित विधान अवलम्बन गर्ने जनाएको छ। यसले बैठकलाई अनुशासित, पारदर्शी र विधिसम्मत बनाउने अपेक्षा गरिएको छ ।

सभालाई सम्बोधन गर्दै नव-निर्वाचित अध्यक्ष जित बहादुर घिमिरेले खस क्षेत्री समुदाय नेपालको इतिहास, राज्य निर्माण र राष्ट्रिय एकताको मूल आधार भएको उल्लेख गरे ।
‘खस क्षेत्री समुदायको हितको कुरा गर्नु कुनै एक वर्गको पक्षपोषण होइन, यो नेपालको ऐतिहासिक सत्य, सांस्कृतिक जरा र राष्ट्रिय एकताको रक्षा हो,’ उनले भने ।
अध्यक्ष घिमिरेले राज्यका नीति, कानुन र संरचनामा देखिएका असन्तुलनका कारण खस क्षेत्री समुदाय पछिल्लो समय पहिचान र अधिकारका सवालमा कमजोर बनाइएको दाबी गरे । उनले समाजलाई शान्तिपूर्ण, वैचारिक र संवैधानिक मार्गबाट अघि बढाइने स्पष्ट पार्दै सबै जात-जाति, भाषा र समुदायसँग सहकार्य गर्दै राष्ट्रहित केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रमका प्रमुख अतिथि तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता उद्धव थापाले खस क्षेत्री समुदाय राष्ट्र निर्माणको मेरुदण्ड भएको उल्लेख गर्दै यसको इतिहास र योगदानलाई कमजोर पार्ने प्रयास गम्भीर चिन्ताको विषय भएको बताए ।
उनले भने, ‘खस क्षेत्रीको पहिचान र अधिकार सुनिश्चित हुनु भनेको नेपालको राष्ट्रिय एकता बलियो हुनु हो ।’

सभाले समाजलाई देशभर विस्तार गर्ने, जिल्लास्तरमा संगठन निर्माण गर्ने, खस क्षेत्री सभ्यता, संस्कृति र इतिहासमाथि अध्ययन-अनुसन्धान गर्ने तथा छिट्टै राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ । साथै स्वदेश तथा विदेशमा रहेका खस क्षेत्री समुदायलाई एकताबद्ध गर्दै समाजलाई बलियो राष्ट्रिय शक्तिका रूपमा विकास गर्ने संकल्प पनि सभाले व्यक्त गरेको छ । कार्यक्रमको सञ्चालन समाजका केन्द्रीय सदस्य समेत रहेका सन्त बहादुर बस्नेतले गरेका थिए ।

प्रथम साधारण सभाले खस क्षेत्री एकता समाज-नेपाललाई केवल समुदायगत संस्था नभई राष्ट्रिय एकता, सामाजिक न्याय र सांस्कृतिक चेतनाको साझा मञ्चका रूपमा स्थापित गर्ने स्पष्ट सन्देश दिएको सहभागीहरूको भनाइ छ ।