मित्रबोध र शत्रुबोध


-डा. रामकृष्ण तिमल्सेना

महाभारत केवल युद्धको कथा होइन, यो मित्रता, शत्रुता, धर्म र चेतनाको गहिरो प्रयोगशाला हो। यस प्रयोगशालामा सबैभन्दा जटिल पात्र कर्ण हो। कर्ण न पूर्ण नायक हुन्, न पूर्ण खलनायक। उनी मित्रबोध र शत्रुबोधको सीमारेखामा उभिएको पात्र हुन्। यही सीमारेखाले कर्णदर्शनलाई आजको नेपाली समाज र राजनीतिका लागि अत्यन्त सान्दर्भिक देखिन्छ। कर्णको जीवन सामाजिक अस्वीकृतिबाट सुरु हुन्छ। जन्मना साथै पहिचान गुमाएको कर्णले संसारलाई न्यायको होइन, अपमानको आँखाले हेर्न सिक्छन्। यही अनुभूतिले कर्णको चेतनामा शत्रुबोधको बीज रोपेको हुन्छ। उनका लागि समाज स्वयं शत्रु बन्छ। यहाँ कर्णको वास्तविक संघर्ष बाह्य होइन, आन्तरिक हो। अपमानले विवेकलाई छोपेपछि शत्रु बाहिर देखिन थाल्छ।

दुर्योधन कर्णको जीवनमा मित्रको रूपमा प्रवेश गर्छन्। तर यो मित्रता निस्वार्थ होइन, रणनीतिक हो। दुर्योधनले कर्णलाई सम्मान दिन्छन्, तर त्यो सम्मान धर्मका लागि होइन, आफ्ना अधार्मिक योजनाका लागि हो। कर्णले यो भिन्नता बुझ्न सकेनन्। यही बिन्दुमा मित्रबोधको भ्रम पैदा हुन्छ। मित्रबोध तब शुद्ध रहन्छ, जब मित्र धर्मसँग जोडिन्छ। अधर्मसँग जोडिएको मित्रता अन्ततः शत्रुतामा परिणत हुन्छ।

कर्णले पाण्डवहरूलाई शत्रु ठान्छन्, विशेषतः अर्जुनलाई। तर अर्जुन कर्णको अस्तित्व नकार्ने शक्ति होइन। अर्जुन प्रतिस्पर्धी हुन्, शत्रु होइनन्। कर्णले प्रतिस्पर्धालाई शत्रुता बनाउँदा विवेकको पराजय भयो। यही पराजयले कर्णलाई युद्धको अधर्मिक पक्षमा उभ्यायो। कर्णदर्शनले यहाँ गहिरो पाठ दिन्छ कि गलत शत्रु पहिचानले महान गुणहरू पनि विनाशतर्फ लैजान सक्छन्।
कर्णको सबैभन्दा ठूलो त्रास बाह्य शत्रु होइन, कृतज्ञताको बन्धन हो। उनले दुर्योधनप्रति कृतज्ञतालाई धर्मभन्दा माथि राखे। मित्रबोध यहाँ बन्धनमा परिणत भयो। साँचो मित्रबोध विवेकमुक्त हुँदैन, विवेकयुक्त हुन्छ। जब मित्रताको नाममा अन्याय सहिन्छ, तब मित्रबोध पतन हुन्छ र शत्रुबोध अन्धो बन्छ।

नेपाली सन्दर्भमा कर्णदर्शन अत्यन्त सजीव छ। यहाँ पनि धेरै व्यक्तिहरू अपमान, उपेक्षा र पहिचान संकटका कारण गलत शत्रु निर्माण गरेका छन्। विचारको असहमतिलाइ शत्रुता ठानिन्छ, आलोचना अपमान ठानिन्छ र शक्ति दिने व्यक्तिलाई मित्र मानिन्छ, चाहे ऊ अधर्ममै किन नहोस्। यही मानसिकताले लोकतान्त्रिक संस्कार कमजोर बनाएको देखिन्छ।
नेपाली राजनीतिमा मित्रता प्रायः पद, संरक्षण र स्वार्थमा आधारित देखिन्छ। यस्तो मित्रता दुर्योधनको मित्रता जस्तै हो। यसले क्षणिक सम्मान दिन्छ, तर दीर्घकालीन नैतिक पतन निम्त्याउँछ। कर्णजस्तै, धेरै प्रतिभाशाली व्यक्तिहरू गलत पक्षमा उभिएका छन्, केवल कृतज्ञताको नाममा।

कर्णले अन्तिम क्षणमा सत्य चिन्छन्, तर ढिलो भइसकेको हुन्छ। यो ढिलाइ नै कर्णदर्शनको सबैभन्दा करुणायोग्य सत्य हो। मित्रबोध र शत्रुबोधको सही पहिचान समयमै भएन भने, पश्चात्ताप मात्र बाँकी रहन्छ। यही सन्देश नेपाली समाजका लागि चेतावनी हो। कर्णदर्शनले भन्छ कि शत्रु सधैं बाहिर हुँदैन। कहिलेकाहीँ अपमानको स्मृति, अहंकारको घाउ र कृतज्ञताको अन्धोपन नै सबैभन्दा ठूलो शत्रु बन्न पुग्छ। मित्र पनि सधैं बाहिर हुँदैन। विवेक, धर्म र आत्मसम्मान नै साँचो मित्र हुन्।

मित्रबोधको कर्णीय अर्थ सबैसँग मित्रता होइन, धर्मसँग मित्रता हो। शत्रुबोधको कर्णीय अर्थ सबैसँग द्वन्द्व होइन, अधर्मसँग प्रतिरोध हो। यही फरक बुझ्दा कर्ण केवल करुणाको पात्र होइन, चेतनाको गुरु बन्छन्। अन्ततः, कर्णको त्रासदी हाम्रो सम्भावना हो। यदि हामीले मित्र र शत्रु पहिचान विवेकभन्दा भावनाबाट गर्‍यौं भने, कर्णजस्तै महान क्षमता पनि गलत युद्धमा खर्च हुन सक्छ। यदि हामीले कर्णको पीडाबाट बोध निकाल्यौं भने, मित्रबोध न्यायसँग र शत्रुबोध अधर्मसँग सीमित हुन पुग्छ।
यही नै कर्णदर्शनको सबैभन्दा गहिरो राजनीतिक, नैतिक र मानवीय शिक्षा हो। हामी यसमा गंभीर बन्नु पर्दछ।