१७ वर्षमा ४७ लाख भन्दा बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन


काठमाडौँ । शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत गरियो ।

विसं २०६५ असार १ गते तत्कालीन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाले विधिवत रुपमा नारायणहिटी दरबार सङ्ग्रहालयको रुपमा समुद्घाटन गरे पनि फागुन १५ देखि सर्वसाधारणका लागि खुला गरिएको थियो । स्थापनाको १७ वर्षमा सो सङ्ग्रहालय ४७ लाख ७७ हजार ७०० स्वदेशी तथा विदेशी पर्यटकले अवलोकन गरेका छन् ।

स्थापनादेखि गत मङ्सिर मसान्तसम्म उक्त सङ्ख्याका पर्यटकले सङ्ग्रहालय अवलोकन गरेका हुन् । आर्थिक वर्ष २०८१/८२ मा दुई लाख ६० हजारले नारायणहिटी दरबार सङ्ग्रहालयको अवलोकन गरेकोमा चालू आवको साउनदेखि मङ्सिर मसान्तसम्म ४६ हजार ७०० र अवलोकन गरेको नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका सूचना अधिकारी पुरुषोत्तम थापाले जानकारी दिए ।

सरकारले नारायणहिटी सङ्ग्रहालय प्रवेशका लागि विद्यार्थीलाई ५०, नेपालीलाई २००, सार्क राष्ट्रका नागरिकलाई ५०० र विदेशी नागरिकलाई एक हजार शुल्क लिँदै आएको छ ।

उक्त सङ्ग्रहालय प्रत्येक हप्ताको मङ्गलबार, बुधबार बन्द रहँदै आएको छभने शनिबार र अन्य बिदाको दिनमा भने खुल्ला रहन्छ ।