कास्की ।पोखरा पर्यटन वर्ष २०२५ को सन्दर्भमा शनिबार पोखरामा ‘टुर दि पोखरा’ साइकल टुर सम्पन्न भएको छ । साइकल सिटी पोखराले साइकल प्रयोगलाई प्राथमिकता दिनुपर्ने सन्देशसहित ‘स्वास्थ्य, वातावरण र पर्यटनका लागि साइक्लिङ’ को नारासहित आठौँ संस्करणको साइकल टुर गरेको हो ।
पोखरादेखि माछापुच्छ्रे गाउँपालिका–२ स्थित गण्डकी रेन्वो ट्राउट हुँदै पुनः पोखरासम्मको ५१ किलोमिटर साइकल यात्रामा ३२ जिल्लाका करिब नौ सयभन्दा बढी सहभागी भएको आयोजक संस्थाका अध्यक्ष श्यामकृष्ण श्रेष्ठले जानकारी दिए ।
उनले साइकल र्यालीको माध्यमबाट पोखरा र वरिपरिका पर्यटकीय गन्तव्य पहिचान गरी आमन्त्रित स्वदेशी एवं विदेशी साइकल यात्रीलाई भ्रमण गराउने र हरित क्रान्तिको सुरुआत गराउने उद्देश्य रहेको बताए ।
विश्व प्रसिद्ध साइकलयात्री पुष्कर शाहको विशेष सहभागिता रहेको कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले साइकल संस्कृतिको विकास र युवाहरूमा साहसिक पर्यटनप्रति रुचि बढाउने कार्यमा यसले महत्त्वपूर्ण प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।
महानगर प्रमुख आचार्यले साइकल प्रेमीहरूको सहरका रूपमा पोखरालाई विकास गर्ने गरी नौ वटै ताल जोड्ने गरी एक सय १७ किमी लामो साइकल ट्र्याक निर्माणको क्रममा रहेको बताए ।
साइकल सिटीका सचिव रामचन्द्र भट्टले कार्यक्रमले साइकल संस्कृतिको प्रवद्र्धन गर्नुका साथै इन्धन बचाउन तथा वातावरण स्वस्थ राख्नका लागिसमेत योगदान पुगेको बताए ।

प्रतिक्रिया