पश्चिमी देशहरूले रुसलाई सम्मानका साथ व्यवहार गरे युक्रेनपछि थप युद्ध हुँदैनः पुटिन


मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी देशहरूले रुसलाई सम्मानका साथ व्यवहार गरे युक्रेनपछि थप युद्ध नहुने बताएका छन् । रुसले युरोपेली देशहरूमाथि आक्रमण गर्ने योजना बनाइरहेको भन्ने दाबीलाई उनले ‘निरर्थक’ भन्दै खारेज गरेका छन् ।

झण्डै साढे चार घण्टा चलेको टेलिभिजन प्रत्यक्ष कार्यक्रममा बीबीसीका स्टिभ रोजेनबर्गले नयाँ ‘विशेष सैन्य अभियान’ हुने कि नहुने भन्ने प्रश्न गर्दा पुटिनले भने, ‘यदि तपाईंहरूले हामीलाई र हाम्रो हितलाई सम्मान गर्नुहुन्छ भने कुनै पनि अभियान हुँदैन।’

यसै महिनाको सुरुमा पुटिनले रुस युरोपसँग युद्ध गर्न चाहँदैन तर युरोपेली देशहरूले चाहे ‘अहिल्यै’ तयार रहेको बताएका थिए।

पुटिनले नाटोको पूर्वतर्फ विस्तारका क्रममा पश्चिमले आफूलाई छल गरेको आरोप दोहोर्याउँदै, त्यस्तो अवस्था दोहोरिएन भने थप रुसी आक्रमण नहुने शर्त पनि अघि सारे ।

पुटिनले सन् १९९० मा नाटो पूर्वतर्फ नफैलिने पश्चिमी वाचा गरिएको दाबी गर्दै आएका छन् । तर तत्कालीन सोभियत नेता मिखाइल गोर्बाचेभले पछि उक्त दाबी अस्वीकार गरेका थिए ।

कार्यक्रममा पुटिन २०१४ मा रुसले विलय गरेको क्रिमियासहित युक्रेनका कब्जा गरिएका क्षेत्रहरू समेटिएको विशाल नक्सामुनि बसेका थिए। रुसी राज्य टेलिभिजनका अनुसार कार्यक्रममा ३० लाखभन्दा बढी प्रश्न पेश भएका थिए।

कार्यक्रम सकिएको केही घण्टापछि युक्रेनको दक्षिणी ओडेसा क्षेत्रमा भएको रुसी क्षेप्यास्त्र आक्रमणमा सात जनाको मृत्यु र १५ जना घाइते भएको युक्रेनी अधिकारीहरूले बताएका छन्। रुसले युक्रेनमाथि आक्रमण सन् २०२२ फेब्रुअरीमा सुरु गरेको थियो।