रिहा भएपछि रविले भने- यिनीहरूले यो देशमाथि गरेको अन्यायको अगाडि ममाथि गरेको अन्याय केही होइन, त्यो सबको हिसाब गर्नुछ


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले न्यायको लडाइँ अझै बाँकी रहेको बताएका छन् । शुक्रबार साँझ जिल्ला अदालत रुपन्देहीमा पुगेर बिगोबापतको रकम बुझाएर रिहा भएका लामिछानेले त्यसका लागि केही समय धैर्य गर्न आग्रह गरे ।

उनले भने, ‘न्याय पाउन अझै बाँकी नै छ । म आशा गर्छु कि देशले चाँडै न्याय पाउनेछ । मैले बोल्ने समय आउँदै छ । केही समय धैर्य गर्नुहोला । मैले धेरै कुरा भन्न बाँकी छ ।’

उनले अन्य दलले आफूमाथि मात्र नभई सिंगो देशमाथि अन्याय गरेको भन्दै त्यो सबैको हिसाबकिताब गरेर मात्रै धेरै बोल्ने बताए ।

उनले भने, ‘यिनीहरूले यो देशमाथि गरेको अन्यायको अगाडि ममाथि गरेको अन्याय केही पनि होइन, त्यो सबको हिसाब गर्नु छ । त्यसको हिसाब मिलाएपछि अलि लामो बोलौँला, आजलाई म यति मात्र भन्छु कि हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ ।’