अमेरिकाको ‘डीभी लटरी’ कार्यक्रम स्थगित


काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले ग्रिनकार्ड लटरी कार्यक्रम स्थगित गरेको छ । ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्ड र म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) का एक प्राध्यापकको हत्या गर्ने संदिग्धले यही कार्यक्रममार्फत ग्रिन कार्ड पाएको दाबी प्रशासनले गरेको छ।

होमल्यान्ड सेक्युरिटी सचिव क्रिस्टी नोएमले सामाजिक सञ्जाल एक्समा लेख्दै अमेरिकी नागरिकता तथा आप्रवासन सेवालाई ‘डाइभर्सिटी इमिग्रेन्ट भिसा प्रोग्राम’ भनिने लटरी कार्यक्रम रोक्न निर्देशन दिएको जानकारी दिइन् ।

अमेरिकी अधिकारीहरूका अनुसार आक्रमणकारी ४८ वर्षीय पोर्चुगाली नागरिक क्लाउडियो म्यानुएल नेभेस भालेन्टे हुन्, जो ब्राउन विश्वविद्यालयका पूर्व विद्यार्थी थिए। नोएमका अनुसार उनले सन् २०१७ मा लटरी कार्यक्रममार्फत ग्रिन कार्ड पाएका थिए। उनको शव बिहीबार आत्महत्या गरेको आशंकासहित फेला परेको थियो ।

‘यस्तो जघन्य व्यक्ति हाम्रो देशमा कहिल्यै प्रवेश गर्न दिनु हुँदैनथ्यो,’ नोएमले लेखेकी छन् ।
वार्षिक रूपमा करिब ५० हजार भिसा प्रदान गर्ने यो कार्यक्रम स्थगित गर्नु ट्रम्पद्वारा आप्रवासन सीमित गर्ने पछिल्लो कदम हो । प्रशासनले आप्रवासन नीतिको कमजोरीका कारण हिंसा बढेको आरोप लगाउँदै कडाइ गर्दै आएको छ ।

यसअघि वाशिङ्टनमा दुई नेशनल गार्ड सैनिकमाथि गोली प्रहार गरेको आशंकामा एक अफगानी नागरिक संलग्न रहेको घटनापछि पनि प्रशासनले मुख्यतः विकासोन्मुख देशहरूबाट हुने आप्रवासनमा कडाइ गरेको थियो। साथै, प्रविधि क्षेत्रमा प्रयोग हुने एच–१बी भिसाका लागि एक लाख अमेरिकी डलर आवेदन शुल्क प्रस्ताव गर्ने कदम पनि अघि बढाइएको छ ।

प्रशासनले आप्रवासन कार्यान्वयनलाई कडा बनाउँदै आप्रवासन हिरासत क्षमतामा ठूलो विस्तार गर्ने योजना अघि सारेको छ, जसअन्तर्गत देशभर दुई दर्जनसम्म गोदाम–आधारित ‘मेगा सेन्टर’ प्रयोग गर्ने तयारी छ।

हजारौं नेपालीहरु पनि डीभी परेर अमेरिका गएका छन् ।